वर्षाका कारण सुदूरपश्चिममा कहाँ कस्तो परेको छ प्रभाव ?

काठमाडौँ : वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको छ।

ठाउँ–ठाउँमा मुख्य तथा शाखा सडक अवरूद्ध बनेका छन् भने बाढी तथा पहिरोको जोखिमले केही स्थानीयहरूले घर छोडेका छन्। केही स्थानीयका घरमा पूर्ण रूपमा क्षति समेत भएको छ।

अवरूद्ध सडकमध्ये बैतडीको सतबाँझ–श्रीभावर सडक एक हो। सुर्नया गाउँपालिका–४ बङसल्लामा पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।

यस्तै बझाङमा पहिरोका कारण जयपृथ्वी राजमार्ग पनि अवरूद्ध भएको छ।

शनिबार बिहान राजमार्ग अन्तर्गत तमैलमा पहिरो खस्दा सडक अवरूद्ध भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरत शाहका अनुसार पहिरोलाई हटाउने काम भइरहेको छ।

यस्तै पहाडी जिल्लाका ग्रामीण क्षेत्र जोड्ने दर्जनौं शाखा सडक पनि अवरूद्ध छन्। 

सडक अवरूद्ध हुँदा स्थानीयहरूलाई मालसामान ढुवानी गर्न समस्या भएको छ भने गन्तव्यमा पुग्न कठिनाइ भएको छ।

वर्षाले सडकसँगै स्थानीयका घरमा पनि क्षति गरेको छ।

बैतडीका तीन घरमा क्षति भएको छ। दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा एक÷एक घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। 

जोखिम परेका तीन घरका १५ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। 

यस्तै, दार्चुलामा बाढीले बस्ती जोखिममा पारेपछि १६ घरपरिवारले जनाले आफ्नो घर छाडेका छन्।

मार्मा गाउँपालिकाको ४ र ५ नम्बर वडाका १६ घर परिवारका ९२ जना बाढीका कारण बस्ती जोखिममा रहेको भन्दै घर छोडेका हुन्।

गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीका अनुसार गन्याड नामक खहरे खोलामा आएको बाढीले स्थानीयहरूको बस्ती जोखिममा पारेको छ। 

पानी परिरहेकै कारण बाढी जतिबेला पनि बस्तीमा पस्ने भन्दै स्थानीयहरूले घर छोडेर सुरक्षित ठाउँ खोजेर बसिरहेका अध्यक्ष धामीले जानकारी दिए। 

धामीका अनुसार उनीहरू सुरक्षित ठाउँमा रहेका छरछिमेकी र विद्यालयको भवनमा बसेका हुन्।

सुदूरपश्चिममा तीन दिनसम्म वर्षा हुने अनुमान गरिएको छ। महाकाली बेसिन कार्यालय अत्तरियाले तीन दिनसम्म सतर्क रहन आग्रह गरेको छ। सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडी उच्च जोखिममा रहेकाले अझ बढी सतर्कता अपनाउनुपर्ने जिल्लाका सम्बन्धित प्रशासन कार्यालयहरूले जनाएका छन्।

यस्तै तराईका जिल्ला कैलाली र कञ्चनपुरका नदी आसपासका बस्तीमा पनि डुबान पर्ने जोखिम छ। 

वर्षाले कैलालीको भजनी क्षेत्रका केही बस्ती डुबानमा परिसकेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयका अनुसार विपदबाट प्रभावित भएकाहरूलाई राहत, उद्धारका लागि मन्त्रालय तयारी अवस्थामा रहेको जनाएको छ।

मन्त्रालयका अनुसार यो मनसुनबाट ५३ हजार ३६२ घरधुरी तथा २ लाख ३३ हजार १९० जनसङ्ख्या प्रभावित हुन सक्ने अनमान छ। प्रभावित हुन सक्ने स्थानीयलाई सुरक्षित ठाउँमा बसाइ सर्न मन्त्रालयले सुझाव दिएको छ।

विपद् लक्षित सामग्रीमध्ये हाल मन्त्रालयसँग २ सय थान टेन्ट, २ सय थान त्रिपाल मात्र मौज्दात छ। ४३० थान त्रिपाल खरिद कार्य अगाडि बढाएको जनाइएको छ।

यस्तै, भूक्षय तथा नदी कटान रोकथामको लागि एक हजार थान बोरा खरिद गरिएको छ। 

प्रदेशको विपद् व्यवस्थापन कोष हाल १८ करोड बजेट रहेको मन्त्रालयसँग छ।

प्रदेशमा बाढी, डुबान, पहिरोका कारण वर्षाका हरेक वर्ष ठूलो मात्रामा जनधनमा क्षति हुने गरेको छ।

यो वर्ष विपदबाट हुने क्षतिलाई कम गर्न प्रदेशका ८८ वटै स्थानीय तह, प्रदेश सरकार र सम्बन्धित प्रशासन कार्यालयहरू आ–आफ्नो तर्फबाट लागि परेको बताइरहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार