के साच्चै राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा ढाका टोपी, झुम्केफुली, सिन्धुरपोते लाउन मिल्दैन ?

काठमाडौं : सरकारले राष्ट्रिय परिचयपत्रलाई नागरिकको पहिचान र सार्वजनिक सेवा तथा सुविधा प्राप्त गर्ने मुख्य आधार बनाउँदै लगेको छ । यसै अनुरूप विभिन्न सरकारी तथा सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य हुन थालेको छ ।

राहदानी, सामाजिक सुरक्षा भत्ता, चिकित्सा शिक्षा आयोगले लिने परीक्षा आदिमा यो अनिवार्य भइसकेको छ । यससँगै आउँदो १ माघदेखि यो नभई बैंकिङ तथा वित्तीय सेवा लिन, टेलिफोन तथा सिमकार्ड लिन, सामाजिक सुरक्षा कोषको सेवा लिन र घर जग्गा किनबेच सम्बन्धी सेवा लिन सकिने छैन । त्यस्तै आउँदो १ साउनदेखि सवारी चालक अनुमतिमा पनि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य हुँदैछ ।

Dengue

जसले गर्दा हरेक नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउनै पर्ने बाध्यता छ । यसका लागि फोटो सहितका व्यक्तिगत विवरण मात्र नभएर औँठा छाप, आँखाको रेटिना जस्ता बायोमेट्रिक सूचना समेत सङ्कलन गर्ने गरिएको छ ।

महिलाको हकमा अनुहारमा आवश्यकता भन्दा बढी मेकअप भए मुख धुन लगाउने गरेको विषयले एकताका निकै चर्चा पाएको थियो । टीका हटाउने, काजल पुछ्ने, लिपिस्टिक पुछ्ने, कानको झुम्का हटाउने, नाकको फुली हटाउन लगाउने र मालाहरू पनि हटाउन लगाउने गरिएको भन्दै अहिले पुनः सामाजिक सञ्जालमा असन्तोषपूर्ण अभिव्यक्ति आउन थालेका छन् ।

यति मात्र होइन, चस्मा निकाल्ने र कपाल कालै हुनुपर्ने सर्त पनि छन् ।त्यस्तै पुरुषहरूका हकमा कानमा मुद्रा वा टप लगाएको भए खोल्न लगाउने, ढाका टोपी, मफलर, गम्छा लगाउन नपाउने नियम पनि छन् ।

खासगरी भेषभूषा झल्किने ढाका टोपी, झुम्का, फुली लगाउन नपाउने नियम प्रति कतिपय मानिसले असन्तुष्टि जनाउँदै पहिचान विरोधी समेत बताउने गरेका छन् । के साच्चिकै यस्तै खाले नियम छन् ? यदि छन् भने किन यस प्रकारका नियम लगाइएको होला त ?

राष्ट्रिय परिचयपत्र कार्यविधि २०७८ ले खिचिने फोटोका लागि आवश्यक मापदण्ड निश्चित गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको आकार र गुणस्तरको फोटो खिच्न नसकिने, अनुहार तथा मुखाकृति समेत अस्पष्ट हुन सक्ने भन्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यस्ता सामग्री, गरगहना लगाई फोटो खिच्ने सन्दर्भमा केही सीमितता तोकेको छ ।

तर विभागका सूचना प्रविधि निर्देशक सुभाष ढकाल राष्ट्रिय परिचयपत्रलाई लिएर अहिले सामाजिक सञ्जालमा अतिरञ्जनात्मक किसिमले टीकाटिप्पणी भइरहेको बताउँछन् । “अनुहार ढाकिने वा छोपिने किसिमले गरगहना वा अन्य सामग्री लगाउन मिल्दैन भन्ने मात्रै हो,” उनले भने, “यो सवालमा विभागले अहिले कुनै नयाँ किसिमको निर्देशन वा परिपत्र जारी गरेको पनि होइन ।”

सामाजिक सञ्जालमा पुराना सामग्री नयाँ जस्तो गरी फैलिरहेको हुनसक्ने उनको बुझाई छ । “फोटो खिच्ने क्रममा अनुहारको केही भाग छोपिने भएकाले सकेसम्म ढाका टोपी खोल्न लगाउने गरिएको छ । तर लगाउनै मिल्दैन भन्ने किसिमको निषेधात्मक बाध्यता भने होइन । कसैलाई लगाउनै मन छ भने पनि अनुहारको आकृति नबिग्रिने वा नछोपिने गरी लगाउन दिने गरिएको छ,” उनले भने ।

तर सिन्धुर लगाएको वा नलगाएको सँग भने कुनै मतलब नहुने ढकालको भनाई छ । “ठूलो र धेरै नै भद्दा देखिएर फोटो नै बिग्रिने अवस्था छ भने त्यो पाइएन,” उनले अगाडि भने, “यस्तै अनुहार तथा कानको भाग नै छोपिने गरी ठुला ठुला गहना लगाउन पनि पाइँदैन । तर सांस्कृतिक पहिचानसँग नै नखुल्ने गरी फोटो खिच्न बाध्य पार्ने भन्ने होइन ।”

साँस्कृित रूपमा कुनै किसिमको बाध्यकारी आभूषण वा भेषभूषा रहेको खण्डमा त्यसमा आफूहरूले केही नभन्ने ढकालले स्पष्ट पारे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार