कांग्रेसले पनि दाहाललाई भन्यो- नयाँ सरकार बनाउन मार्गप्रशस्त गर्नुहोस् !

काठमाडौँ : नेकपा (एमाले)सँग भएको सहमतिलाई अनुमाेदन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पनि प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमालेसँगको सहमतिको स्वागत गरेको प्रवक्ता प्रकाशशरण महतले बताए। बैठकका निर्णयबारे जानकारी दिंदै महतले भने, “केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमालेसँग भएको समझदारीको स्वागत गरेको छ, समर्थन गरेको छ।”

Dengue

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच असार १७ गते राति नयाँ सरकार गठन गर्ने सहमति भएको थियो। जसमा दुई दलले आगामी निर्वाचनसम्म आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख छ।

पहिले एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने सहमति बनेको छ। यससँगै संविधान संशोधन लगायत विषयमा पनि दुई दलबीच सहमति बनेको थियो।

त्यसलाई अनुमोदन गराउन सभापति देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका थिए। “कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको समझदारीलाई अनुमोदन गर्ने निर्णय गरेको छ,” महतले भने।

यसअघि असार १८ गते बसेको एमाले सचिवालयको बैठकले पनि कांग्रेससँगको सहमतिलाई अनुमोदन गरेको थियो। यससँगै एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिएर नयाँ सरकार गठनको प्रक्रियामा सघाउन आग्रह गरेको थियो। एमालेले बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि दाहाललाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ। “दुई ठूला दल मिलिसकेपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ,” महतले भने, “प्रधानमन्त्री दाहालले मार्गप्रशस्त गर्नुहुनेछ।”

प्रधानमन्त्री दाहालले राजीनामा नदिएमा संवैधानिक प्रक्रिया अनुसार नयाँ सरकार गठनको बाटो अवलम्बन गर्ने महतको भनाइ छ। त्यो भनेको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ। त्यसपछि प्रधानमन्त्री दाहालले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत लिन नसकेमा राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार