के राष्ट्रिय राजनीतिमा सत्ता समीकरण फेरबदलको अर्को खिचडी पाक्दै छ?

काठमाडौँ : सत्तारुकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफललाई लिएर विभिन्न विश्लेषण शुरु भएको छ। संवादहीनता तोड्दै शनिबार पत्नी आरजुसँग देउवा ओलीनिवास बालकोट पुगेका थिए भने झन्डै तीन घण्टाको छलफलपछि फर्किएका थिए।

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन तथा निर्वाचन प्रणालीमा हेरफेर र अर्थतन्त्र सुधारका लागि प्रमुख दुई दल मिल्नुपर्ने बहस भइरहेको वेला ओली–देउवाबीच लामो छलफल हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसले माओवादी पंक्तिमा आशंका पनि पैदा गरेको बताइन्छ। 

Dengue

सोही कारण ओली-देउवा भेटेको २४ घण्टा नबित्दै आइतबार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले ओलीलाई बालुवाटार बोलाएर भेटे। ओलीलाई प्रमुख प्रतिपक्षी दलका नेताले भेटेलगत्तै प्रधानमन्त्रीले भेट्नुलाई सत्ताकै सन्दर्भमा अर्को खिचडी पाकिरहेको हुन सक्ने विश्लेषण कतिपयको छ।

तर सत्ता निकटका स्रोतले भने बाक्लिँदो नेताहरूको संवाद शृंखलालाई सामान्य भनेका छन्। शनिबार कांग्रेस सभापति देउवासँग भएको भेटबारे एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईं भन्छन्, ‘यस्तो छलफलहरू हुँदै आएको हो। कांग्रेस सभापतिसँग मात्रै होइन, प्रधानमन्त्रीसँग पनि।’

त्यसअघि १३ असारमा ओली, प्रचण्ड र देउवाबीच संक्रमणकालीन न्यायको बाँकी काम छिटो टुंग्याउनेबारे छलफल भएको थियो। शनिबार ओली-देउवाबीचको भेट पनि त्यसैको सिलसिला भएको बजगाईं बताउँछन्। ‘केही दिनअघि पनि तीन शीर्ष नेताहरू बस्नुभएको थियो। हिजोको भेट पनि त्यसैको सिलसिला हो’, उनले भने, ‘बहुपक्षीय, द्विपक्षीय छलफलहरू हुँदै जान्छन् राष्ट्रिय राजनीतिमा।’ 

एमाले सचिव पद्मा अर्याल पनि यसलाई सामान्य रूपमा अर्थ्याउँछिन्। राष्ट्रिय राजनीतिका शीर्ष नेताहरूबीच हुने यस्ता भेटवार्तालाई जहिल्यै सत्तासँग जोडेर हेर्न नमिल्ने उनी बताउँछिन्। 

‘यस्ता राजनीतिक भेटवार्तालाई अस्वभाविक रूपमा लिन हुँदैन’, उनी भन्छिन्, ‘राष्ट्रिय राजनीतिका विषयमा छलफल, संवाद भइरहनुपर्छ नै। भेटघाट हुँदैमा यसलाई सत्तासँगै जोड्नु हुँदैन। यो सत्तासँग जोडिएको विषय हो भन्ने मलाई लाग्दैन।’ 

माओवादी सचिव लीलामणि पोखरेल पनि ओली-देउवा भेटलाई लिएर तरंगित हुनु नपर्ने बताउँछन्। अहिले सबैको चासो र चिन्ताको विषय बनेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)लाई सर्वसम्मतिबाट टुंग्याउने सन्दर्भमा दुई नेताको भेट भएको हुनसक्ने उनी बताउँछन्।   

‘अहिले टिआरसी सर्वसम्मत पास गर्ने पहल भइरहेको छ। यस सन्दर्भमा समझदारी हुन जरुरी छ’, उनले भने, ‘उहाँ (ओली) प्रधानमन्त्री नभए पनि सत्तारुढ दलको प्रमुख नेता हो। त्यसकारण यसबारे छलफल गर्नुभएको जस्तो लाग्छ’, उनले भने, ‘त्यसकारण भेटलाई लिएर धेरै तरंगित हुनुपर्ने जस्तो लाग्दैन।’

प्रमुख प्रतिपक्षी कांग्रेस भने मुलुकको राजनीतिक स्थायित्वका लागि दुई ठूला दलहरू मिल्ने सम्भावना बढेको दाबी गर्छ। बजेट पनि जबरजस्ती पारित गरेको एमालेले अहिले आफूहरूसँग संवाद गर्न चाहेकोले देउवा बालकोट पुगेका ती नेताको दाबी छ। 

‘प्रधानमन्त्रीको कामकारबाहीबाट ओलीजी असन्तुष्ट भइरहनुभएको छ। हामी त्यसै पनि प्रतिपक्षी भइहाल्यौं। उहाँहरूले बाध्यताले मात्रै बजेट पनि पास गर्नुभएको हो। यस्तो अवस्थामा विपक्षी दलको नेतासँग कुरा गर्ने चाहना राख्नुभएकाले हाम्रो सभापति जानुभएको हो’, ती नेताले थाहाखबरसँग भने, ‘यसलाई राजनीतिक स्थायित्व र संविधान संशोधन तथा निर्वाचन प्रणाली फेरबदल र अर्थतन्त्र सुधार गर्ने कुरामा दुई ठूला दल विस्तारै मिलेर जाने वातावरण बनेको रूपमा बुझ्दा गलत हुँदैन।’ 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने ओलीसँगको भेटबारे देउवाले आगामी पदाधिकारी बैठकमा स्पष्ट पार्ने बताए। ‘भोलि (सोमबार) ३ बजे पार्टी पदाधिकारी बैठक बस्दै छ। उहाँहरूबीच के विषयमा छलफल भयो भनेर बैठकमा उहाँ (सभापति)ले भनेपछि मात्रै थाहा हुन्छ’, उनले भने। 

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र भने एमाले-कांग्रेस मिल्ने सम्भावना नरहेको बताउँछ। चर्चा भएजस्तो एमाले र कांग्रेस नमिल्ने माओवादी सचिव पोखरेल दाबी गर्छन्। 

‘कांग्रेस एमाले मिलेर सरकार बनाउने कुरा सम्भव छैन’, उनले भने, ‘किनभने विश्वकै परिदृश्यमा मेजर अपोनेन्ट पार्टीहरूबीच सरकार सेयर गर्ने काम भएको छैन। नेपालका मुख्य प्रतिद्वन्द्वी एमाले र कांग्रेस, अझ दुई पार्टी सिस्टमा जानुपर्छ भन्ने पार्टीहरू मिलेर सरकार चलाउने कुरा त कुनै कोणबाट सम्भव देखिँदैन।’ 

के भन्छन् विश्लेषक ? 

राजनीतिक विश्लेषक शंकर तिवारी ओली-देउवा भेटलाई सत्ता समीकरण फेरबदलसँग जोड्न नमिल्ने बताउँछन्। एमालेसँग कांग्रेस सभापति देउवा एक्लैले सहकार्य चाहे पनि त्यो पार्टीबाट अनुमोदन हुने सम्भावना उनी देख्दैनन्। 

‘सामान्य औपचारिक भेटघाट नै हो यो। सत्ता फेरबदल हुने गरी खिचडी पाकिहाल्यो भन्नुपर्ने अवस्था छैन’, विश्लेषक तिवारीले भने, ‘किनभने ओलीले आफूलाई लागेको निर्णय पार्टीमा गराउन सक्नुहुन्छ तर देउवाले पार्टीभित्र लागू गर्न सक्ने अवस्था छैन विशेषगरी सत्ता समीकरणको सन्दर्भमा। उहाँले केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समितिबाट लामो बहस गरेर पारित गराउनुपर्छ, त्यो प्रक्रिया एमाले पनि सहज छ कांग्रेसमा छैन। र कांग्रेसले अहिले ओलीलाई प्रधानमन्त्री मान्ने कुरा कांग्रेसका लागि सहज छैन।’ 

तेस्रो दललाई प्रधानमन्त्री मानिसकेको कांग्रेस पंक्तिले अब फेरि दोस्रो दललाई प्रधानमन्त्री स्विकार्ने सम्भावना पनि नरहेको विश्लेषक तिवारी औंल्याउँछन्। ‘पहिला तेस्रो दललाई प्रधानमन्त्री मान्यो, अब दोस्रोलाई  प्रधानमन्त्री मानेर जाने कुरा कांग्रेस कार्यकर्ताका लागि सह्य छैन। त्यसको जवाफ सभापतिले कार्यकर्तालाई बुझाउन सक्नुहुन्न। किनभने प्रधानमन्त्री नभई सत्तामा गएर मात्रै आफूले चाहेको गर्न सकिँदैन। त्यसैले महामन्त्रीहरूको मत चाहिँ केही समय अथवा हुन सक्छ भने बाँकी पूरै समय प्रतिपक्षमा बसौं भन्ने छ।’

अहिले कांग्रेससँग सहकार्य गरेर आफैँमाथि अप्ठ्यारो परिस्थिति सृजना गर्न स्वयं एमाले अध्यक्ष ओलीले पनि नचाहेको विश्लेषक तिवारी ठान्छन्। ‘अर्को कुरा अहिले सहजतापूर्वक सबै काम प्रचण्डबाट ओलीले लिरहनुभएको छ। देउवालाई प्रधानमन्त्री बनाएर त्यो सहजता उहाँलाई पनि मिल्नेवाला छैन र ओली त्यत्ति मूर्ख पनि हुनुहुन्न।’ 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार