धनगढी : दिपायल शिखर नगरपालिका–८, तिल्तालीका दिनेश बलायरले दुई वर्षअघि गोरु जोतेर रोपाइँ गर्नुभएको थियो । खेतीपातीका लागि उहाँले घरमा हलगोरु पाल्नै पर्ने अवस्था थियो । यस वर्ष दिनेशले हाते ट्याक्टर जोतेर रोपाइँ गर्नुभएको छ । शिखर नगरपालिकाको कृषि शाखाले उहाँको खेतमा धान दिवससँग रोपाइँको आयोजना गरेको थियो जहाँ रोपाइँमा गोरुको सट्टा हाते ट्याक्टर प्रयोग गरियो ।
त्यस्तै आदर्श गाउँपालिका–१, सालगाउँका किसान शेरबहादुर खड्काको खेतमा पनि गाउँपालिका र कृषि ज्ञान केन्द्रको आयोजनामा धान दिवस मनाइयो । गत वर्षसम्म रोपाइँमा गोरुको प्रयोग गरिएकोमा यस वर्ष हाते ट्याक्टर र गोरु दुुवैको प्रयोग गरिएको छ ।
कृषक बलायर र खड्काको रोपाइँ गरिएको खेतमा गोरु जोतेर रोपाइँ गर्न गत वर्षहरूमा पूरै एक दिन समय लाग्थ्यो भने यस वर्ष चार घण्टाको अवधिमा रोपाइँ सकियो । हाते ट्याक्टरको प्रयोगले समय बचत हुनुका साथै गोरु पाल्नुुपर्ने झन्झट हटेको कृषक बलायरले बताउनुुभयो । “हाते ट्याक्टरको प्रयोगले हामी किसानलाई धेरै सजिलो भएको छ, उहाँले भन्नुुभयो, “समयको बचत भएको छ । गोरु पाल्नुुपर्ने झन्झट हटेको छ । उत्पादन पनि राम्रो हुने अपेक्षा गरेका छौँ ।”
पहाडमा पनि सजिलै हाते ट्याक्टरको प्रयोग गर्न सकिने कृषक खड्काले बताउनुभयो । “ट्याक्टर सानो भएका कारण पहाडका साँघुरा गरामा पनि जोत्न सकिन्छ । यसको प्रयोग रोपाइँमा मात्र नभएर हरेक समय खेत जोत्न सकिन्छ,” उहाँले थप्नुभयो ।
पछिल्लो समय जिल्लाका २५० भन्दा बढी किसानले हाते ट्याक्टरको प्रयोग गरी खेती गर्दै आएको कृषि ज्ञान केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो । प्रदेश, स्थानीय सरकार तथा गैरसरकारी सङ्घ संस्थाले अनुदानमा ट्याक्टर उपलब्ध गराउन थालेपछि हाते ट्याक्टर प्रयोग गर्ने किसानको
सङ्ख्यामा वृद्धि भएको हो । हाते ट्याक्टरसँगै अन्य प्रविधि र कृषिसम्बन्धी ज्ञानको प्रयोग गर्दै प्रविधिमैत्री कृषि खेती गर्ने किसानको सङ्ख्या वृद्धि हुँदै भएको अवस्थीले बताउनुभयो । ज्ञान केन्द्रले धान रोप्ने मेसिन, धान, गहुँ चुट्ने थ्रेसरलगायत अन्य प्रविधिको पनि सफल परीक्षण गरिसकेको बताउनुुभयो ।
हाते ट्याक्टर वितरण
दुई वर्षमा २५० जना कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । चालु आर्थिक वर्षमा सहकारी मन्त्रालयले डोटीका १५० जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको कृषि विकास निर्देशनालय दिपायलका निमित्त प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो ।
यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय दिपायलले जिल्लाका ९० जना कृषकलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरेको छ ।
त्यस्तै कृषि ज्ञान केन्द्र र स्थानीय सरकारको ५० प्रतिशत अनुदानमा ६० वटा ट्याक्टर वितरण गरिएको छ । गत वर्ष कृषि विकास निर्देशनालयले ६० वटा ट्याक्टर, कृषि ज्ञान केन्द्रले ६० वटा ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । गत वर्ष साइन नेपाल नामक गैरसरकारी संस्थाले ४० वटा हाते ट्याक्टर र केही थान थ्रेसर निःशुल्क रूपमा कृषि समूहलाई उपलब्ध गराएको थियो ।
ट्याक्टरको माग बढ्यो
जिल्लामा हाते ट्याक्टर, धान रोप्ने मेसिन, थ्रेसर, पोलीहाउसलगायतका सामग्रीको माग बढेको कृषि विकास निर्देशनालय निमित्त प्रमुख पनेरुले बताउनुभयो । हाते ट्याक्टर पहाडमा सञ्चालन गर्न सहज र महिलामैत्री भएका कारण पनि माग बढ्दो हो ।
“यस वर्ष पाँच सयभन्दा बढी कृषकले हाते ट्याक्टरको माग गरेका थिए, उहाँले भन्नुभयो, “त्यसका लागि बजेटले भ्याएन । अर्को वर्ष पनि निरन्तरता दिने तयारीमा छौँ । युवा र महिला कृषकले ट्याक्टर खुबै रुचाएका छन् यसले कृषिमा युवा र महिलामा आकर्षण बढाएको छ ।” “गत वर्ष देखिएको ‘लम्पी स्किन,’ खोरेत रोगको महामारी फैलिएपछि धेरै गाईगोरुको मृत्यु भयो त्यस कारण पनि हाते ट्याक्टरको माग बढ्दै गएको हो,’’ कृषि विकास निर्देशनालय दिपायलका निमित्त प्रमुख पनेरुले भन्नुभयो ।
कैलालीका खेत बाँझै
असार १५ धान रोपाइँ दिवसमा कैलालीका किसानले बोरिङको भरमा रोपाइँ गरिरहेका छन् । पश्चिम नेपालमा मनसुन भित्रिए पनि पर्याप्त वर्षा नभएपछि बोरिङबाट तानेको पानीकै भरमा रोपाइँ गर्नु परेको किसानले बताएका छन् ।
असार महिनाको मध्य हुनै लाग्दा पनि खेतीपातीका लागि यहाँ पर्याप्त पानी परेको छैन । धेरै जसो खेत अहिले पनि बाँझै रहेका छन् । रोपाइँ गरिसक्ने बेला वर्षा नभएपछि बोरिङको पानीको भरमा रोपाइँ गर्न थालेको धनगढी उपमहानगरपालिका–२ का कृषक श्यामराज भट्टले बताउनुभयो ।
“आकासे पानी पर्ला भनेर धेरै दिनसम्म धान रोपाइँ गरेनौँ,” आज पर्छ भोलि पर्छ भन्दैमा असारसमेत जान लागिसक्यो तर अहिलेसम्म पानी परेन । बोरिङले सिँचाइ गरेर रोपाइँ गरिरहेका छौं,” उहाँले भन्नुभयो ।
पूर्वी नेपालमा भने बाढीले वितण्डा मच्चाइरहेका बेला पश्चिममा पानीको पर्खाइमा किसानले खेती लगाउनसमेत पाएका छैनन् । कैलाली र कञ्चनपुर क्षेत्रका किसान बोरिङकै भरमा धमाधम रोपाइँ गरिरहेका छन् । तीन महिना लामो खडेरीका कारण जमिनमुनिको पानीको सतह सुकेपछि केही स्थानमा बोरिङको पानीसमेत आउन छाडेको किसान चिल्लु चौधरी बताउनुहुन्छ । धान रोपेको खेतमा सुक्खा धाँजा फाट्न थालेको छ ।
उहाँले बोरिङकै भरमा यस वर्षको आधा रोपाइँ सकिसकेको जानकारी दिनुभयो । “पानी परेपछि रोापाइँ गर्ने आसमा बसेका हामी किसानलाई प्रकृतिले नै ठगेको छ,’’ उहाँले भन्नुभयो । कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीका अनुसार अहिलेसम्म बोरिङको भरमा मात्रै रोपाइँ भइरहेको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार यस जिल्लामा कुल ८९ हजार ९३५ हेक्टर कृषियोग्य जमिनमध्ये ६९ हजार हेक्टर जमिनमा बर्खे धान खेती गर्ने गरिएको छ । कहिले वर्षा कम भएर कहिले वर्षा धेरै भएर किसानले धान तथा गहुँ खेतीमा क्षति बेहार्नु परेको छ ।
जल, मल र बिउको अभाव
दार्चुलाका किसानले जल, मल र बिउको अभावमा धान खेती फस्टाउन नसकेको गुनासो गरेका छन् । २१ औँ राष्ट्रिय धान दिवस २०८१ को अवसरमा मालिकार्जुन गाउँपालिका–६, सलेतीमा आयोजित रोपाइँमा सहभागी किसानले सिँचाइका लागि पर्याप्त पानी नहुँदा धान रोप्न ढिलो भएको गुनासो गरेका हुन् ।
“छेउमै महाकाली बगेको छ तर हामीलाई रोपाइँ गर्न पानी छैन,” रोपाइँमा सहभागी किसान भागरथी अवस्थीले भन्नुभयो । उन्नत बिउ, जल, मलका साथै रोग किराबाट बचाउन समयमै औषधी नपाउँदा किसानले बर्सेनि ठुलो क्षति बेहोर्नु परेको उहाँको भनाइ छ ।
दार्चुलामा चार हजार ४८० हेक्टर जमिनमा धान खेती हुने गरेको र हालसम्म ५५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्रका प्रमुख सिद्धराज उपाध्यायले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्