सुर्खेत : दही मिठो दुधपन मिठो धनरास्या गाबुको
धेर माया आमाको लाग्दो त्यही माया बाबुको ।
ज्यदौ कर्णाली..!
लोक साहित्यका अध्येता तथा लेखक ओम रिजालले ‘प्रथम कर्णाली सांस्कृतिक सम्मेलन’ मा कर्णालीको भाषामा सुनाएको देउडा गीत हो, यो । ‘कर्णालीको लोक संस्कृति कति छ कति छैन’ शीर्षकमा भएको बहसमा उनले कर्णालीको सभ्यता र लोक संस्कृति हराउँदै गएको प्रति चिन्ता व्यक्त गरे ।
उनको बुझाइमा नेपाली लोक संस्कृति कर्णालीबाट नै सुरु भएको हो । ‘नेपाली लोक संस्कृतिमा कर्णालीलाई हटाइदियो भने लोक संस्कृति नै बाँच्दैन,’ रिजालले भने, ‘किनकि त्यसको जननी कर्णाली हो । यसलाई हटाइदिए न भाषा, न इतिहास, न कला, न संस्कृति बच्दछ ।’
उनका अनुसार मारुनी नेपालका सबै जिल्लामा प्रचलनमा छ । लोक साहित्यको अध्ययन गर्दा मारुनीभित्र कृष्ण गाथा र राम चरित्र पनि छ । यो दैलेखतिरको मारुनीभित्रको कुरा हो ।
कर्णाली विभिन्न जातिको पनि आदिभूमि पनि हो । अहिले धेरै मान्छेहरू कुल देवताको खोजीमा कर्णालीमा आउँछन् । मष्टो संस्कृतिको विषयमा अझ गहिरो तरिकाले अध्ययन गरिनुपर्ने उनको भनाइ छ । यस्ता खालका संस्कृतिले सबैलाई एकतामा बाँध्छ, फुटेको जुटाउने संस्कृति कर्णालीमा रहेको तर बिस्तारै हराउँदै गएको उनको भनाइ छ ।
उनी भन्छन्, ‘लोक संस्कृति लेखेर मात्रै बच्दैन, मधुसूदन गिरी, जीवेन्द्र देव गिरी, नरहरीनाथ लगायत थुप्रै विद्वानहरूले लेखेका छन् । बच्ने भनेको पुस्तान्तरण र हस्तान्तरण भएपछि हो । पुस्तान्तरण भएन भने बच्दैन । यो पुस्ता सकियो भने मागल अर्को पुस्तामा बच्दैन । मारुनी हस्तान्तरण नभए, त्यो बच्दैन । धमारी बचाउनका लागि पनि गुरुहरूले अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्छ । हामी लेखकले त बचाऊ है भनेर झक्झक्याउने काम हो ।’
उनका अनुसार खासमा कर्णालीलाई कर्णालीले अझै लेखेको छैन । बाहिरका मूर्धन्य व्यक्तिहरूले लेखे पनि कहिले कतै भ्रम पर्ने कुराहरू लेखिएको उनको भनाइ छ । लोक संस्कृतिको विकासमा राज्यले पनि खासै ध्यान नदिएको उनले बताइ ।
कुनै बेलाको हाम्रो संस्कृति यस्तो थियो:
‘पानी माग्या दुध मिल्लो छ धन्न दुल्लु देश… यो हाम्रो संस्कृति हो,
अहिले पैसा फाल्या दारु मिल्छ….जस्तो भयो,
‘पानी माग्या दुध मिल्लो छ भन्ने शब्द दुल्लु क्षेत्रसँग सम्बन्धित हो,’ रिजाल भन्छन्, ‘छैठ खेल्न छाडेर बेबी सावरमा गएको छ, यही हो हाम्रो संस्कृति ? हामीले हाम्रा संस्कृति बचाउन चासो दिएनौँ, त्यसलाई रुढीवादी भन्छौँ । देउताका पैठहरू छाडेर डिस्को बारतिर ध्यान छ । हामीलाई आफ्नो भाषा बोल्दा पाखेको अनुभूति हुन्छ । बच्चाले अङ्ग्रेजी बोल्दा गर्वको अनुभूति हुन्छ अनि देउडाको भाका भन्दा किन गर्व हुँदैन ?,’ भन्दै रिजालले प्रश्न गरे ।
संस्कृतिको विकासविना अन्य विकासले खासै अर्थ नराख्ने रिजालको बुझाइ छ । उनी भन्छन्, ‘अहिले गाउँ–गाउँमा सिंहदरबार भनिएको छ, के साँच्चै आएको छ त ? यदि आएको छ भने त्यसले हाम्रो भाषा, कला, संस्कृतिमा के काम गर्यो ? के दुई रेसा सडक खन्नु मात्र विकास हो ? के हाम्रा पुर्खाले छोडेको संस्कृतिको विकास विकास होइन ? यो कुरा जबसम्म घरआगनका सिंहदरबारले बुझ्दैनन्, तबसम्म काठमाडौँले बुझ्दैन ।’
अहिले विकासको जो सोच र दृष्टिकोण छ, यो नबदलिएसम्म समाज रूपान्तरण सम्भव नरहने उनले बताए ।
लोक साहित्यका अध्येता मोतीराज बमले पनि कर्णाली लोक संस्कृति र लोक साहित्य हराउँदै गएको प्रति चिन्ता व्यक्त गरे । उनको बुझाइमा संस्कृति हाम्रो पहिचान, स्वाभिमान हो । आजका युवाहरूमा यो कुरा हराउँदै गएको छ । संस्कृतिलाई सम्पदाको रूपमा लिनुपर्ने उनको भनाइ छ ।
मानव विकास सँगसँगै संस्कृतिको विकास पनि गरिनुपर्ने उनले बताए । उनी भन्छन्, ‘भाषा र सभ्यताको उद्गम थलो कर्णाली‘ शिव–पार्वतीको पनि उद्गम थलो हो । यहाँको लोक संस्कृति बृहत् छ । यसलाई अझै उत्खनन र संरक्षण गरिनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्