गृहमन्त्रीले सूर्यदर्शन सहकारीबारे अनुसन्धान गरिरहेका इन्स्पेक्टरलाई सरुवा गरे

काठमाडौँ : गृहमन्त्री रवि लामिछाने मुछिएको पोखराको सूर्यदर्शन सहकारी संस्थाबारे अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सरुवा गरिएको विषयमा नेपाली कांग्रेसले विरोध जनाएको छ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री लामिछाने जोडिएको मुद्दामा अनुसन्धान गरिरहेका इन्स्पेक्टरको सरुवा गरिएकामा प्रश्न गरेका हुन्। गृहमन्त्री लामिछानेले संसद्को रोस्टममा उभिएर झूट बोलेको शर्माको भनाइ थियो। हिमालखबरले यस सम्बन्धी विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो।

Dengue

“गृहमन्त्रीजीले जेठ ६ गते यो संसद्को रोस्टममा उभिएर भन्नुभएको थियो, पहिले पहिले मन्त्रीहरूले अनुसन्धान गर्थे, अब प्रहरीले गर्छ। अनि अनुसन्धान गरिरहेका प्रहरीलाई पहिले पहिले सरुवा गरिन्थ्यो, अहिले सरुवा गरिंदैन,” शर्माले थपे, “उहाँले संसद्को रोस्टममा उभिएर ठाडै झूट बोल्नुभएको थियो।”

कास्कीमा सूर्यदर्शन सहकारीबारे अनुसन्धान गरिरहेका इन्स्पेक्टर सूर्यबहादुर मगरलाई समय नपुग्दै सरुवा गरिएको शर्माको भनाइ थियो। “जेठ ६ गतेभन्दा ठीक १० दिन अगाडि नेपाल प्रहरीले ५१९ जना प्रहरी इन्स्पेक्टरहरू सरुवा गरेको थियो। त्यो सूचीको ५०३ नम्बरमा एउटा नाम छ, सूर्यबहादुर राना मगर। प्रहरीको नियमावली २०७१ मा सामान्यतया एक वर्षसम्म प्रहरीलाई सरुवा गरिएको ठाउँमा काम गर्न दिइन्छ,” शर्माले भने।

तर गृहमन्त्रीले अनुसन्धान रोक्ने उद्देश्यले मगरको सरुवा गरेको शर्माले जिकिर गरे। “सूर्यबहादुर मगर जिल्ला प्रहरी कार्यालय, कास्कीको अपराध अनुसन्धान तथा नियन्त्रण शाखामा कार्यरत थिए। गृहमन्त्रीजी हिजो मालिक रहेको सूर्यदर्शन सहकारी संस्था त्यही कास्कीमा छ। सूर्यबहादुर त्यही छानबिन गर्ने एक इन्स्पेक्टर थिए। उनलाई समय नपुगी हटाइयो,” शर्माले थपे, “सूर्यबहादुर २०८० भदौ ८ गते हाजिर भएका थिए। उनलाई वैशाख २६ गतेको निर्णयबाट डाँडा कटाइयो र महोत्तरी पुर्‍याइयो। यही रोस्टममा उभिएर प्रहरी चलाउँदैनौं भन्दै हुनुहुन्थ्यो, झूट बोल्नलाई देशको गृहमन्त्रीले रोस्टम प्रयोग गर्न पाउने कि नपाउने?”

यससँगै सूर्यदर्शन सहकारीपीडितलाई सर्वोच्च अदालत प्रवेश गर्न नदिएकोमा पनि शर्माले आपत्ति जनाए। “सूर्यदर्शन सहकारीका पीडितहरू सम्मानित सर्वोच्च अदालतको बहस सुन्न पोखराबाट काठमाडौं आएका थिए। अदालतले पाँच जनालाई पास पनि दियो, तर प्रहरीले गेटमा रोक्यो,” शर्माले भने, “तर ‘डोर ग्याङ’ का साथीहरू भित्र इजलासमा सुनिरहेका थिए।” उनले सर्वोच्चको इजलासमा बहस सुन्न गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेको टोलीलाई ‘डोर ग्याङ’ भनेका हुन्। 

यससँगै महामन्त्री शर्माले गोरखा मिडिया प्रालिका अध्यक्ष जीबी राईलाई भगाउन खोजेको पनि आरोप लगाए। गृहमन्त्रीले मलेशियामा जीबी राईको ‘लोकेशन’ पत्ता लागेको भनेर भाग्न संकेत दिएको शर्माको आरोप थियो। चार दिनअघि गृहमन्त्री लामिछानेले मलेशियामा जीबी राईको लोकेशन पत्ता लागेको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार