काठमाडौँ : मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौं पठाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले पानी धमिलो नहुन्जेल काठमाडौंमा पानी पठाउने काम नरोकिने जनाएको हो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले मनसुन सुरु भएसँगै मेलम्ची खोलामा पानीको बहाव बढ्ने र खानेपानी पथान्तरण गर्ने संरचनामा जोखिम हुने सम्भावनालाई मध्यनजर गरेर काठमाडौं पानी पठाइने बताए ।
आयोजनाको मुख्य हेडबक्समा पानी थिग्याउने संरचना नभएको र नदीमा धमिलो पानी आउने बित्तिकै हेडबक्स बन्द गनुपर्ने अवस्था रहेको बताए । विज्ञ र मन्त्रालयले जेठ ३१ गतेबाट जुनसुकै समयमा पानी बन्द गर्न सुझाव आएको भन्दै आयोजनाले तत्कालको लागि पानी बन्द नगरी निरन्तर पानी पठाउने काम गरिरहेको बताए ।
तत्काल मनसुन सक्रिय नभएको र नदीमा बाढी नआएकाले तत्काल हेडबक्स बन्द नगरिने कार्यकारी निर्देशक लामिछानेले बताए । कार्यकारी निर्देशक लामिछानेले मेलम्ची नदीमा धमिलो पानी नआएसम्म पानी पथान्तरण जारी रहने बताए । सबै सावधानीका उपायहरु अपनाएर आवश्यक जनशक्ति र उपकरण समेत तयारी अवस्थामा राखेको बताए ।
उनले भने, ‘बर्खा लागेपछि मनसुन सक्रिय हुनुभन्दा एक हप्ता अगाडि मेलम्चीको टनेल बन्द गर्न धेरै विज्ञहरुको जेठ २८ गतेबाट बन्द गर्नुपर्छ भन्ने सुझाव प्राप्त भइरहेको थियो । त्यही अनुसार समाचारहरु पनि आइरहेका छन् । तर मेलम्ची खानेपानी विकास समिति मनसुन सक्रिय नभएसम्म पानी सञ्चालन गर्ने तयारीका साथ सकेका छौं । जेठ ३१ गतेबाट मनसुन सक्रिय भएपछि थप निगरानी बढायौं । मेलम्ची नदीमा जबसम्म पानी धमिलो आउँदैन र माथि पहिरो जाँदैन तबसम्म पानी सञ्चालन गरी राख्ने योजना बनाएका छौँ ।’
उनले सम्भावित जोखिमलाई ध्यानमा राखेर सावधानीका उपायहरु निरन्तर अपनाइएको बताए । ‘बन्द हुने सम्भावना जुनसुकै बेला पनि छ । जेठ ३१ गतेपछि पानी धमिलो र बाढी आएर टनेललाई क्षेति पुग्ने अवस्था आयो भने जुनसुकै बेला पनि टनेल बन्द गर्न सक्ने गरी मन्त्रालयबाट स्वीकृत लिएर बसेका छौं,’ उनले भने ।
उनले बाढी आएको अवस्थामा १५ मिनेट भित्रमा सबै टनेल बन्द हुने गरी तयारी गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्