काठमाडौँ : नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ ।
बुधवार काठमाडौंमा लागुऔषध दुर्व्यसनी, कानुनी कारबाही र हालको व्यवहारबारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा रिकभरिङ नेपालले सो जानकारी गराएको हो । रिकभरिङ नेपाल लागुऔषध प्रयोगकर्ताहरू र लागुऔषधको क्षेत्रमा कार्यरत संघ संस्थाहरूको राष्ट्रिय स्तरको महासंघको अन्तरक्रिया कार्यक्रममा गृह मन्त्रालयको प्रतिवेदनलाई आधार मानेर प्रस्तुति दिइएको थियो ।
गृह मन्त्रालयको प्रतिवेदनअनुसार २०७६ मा देशभर अनुमानित १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेका थिए । कुल लागुऔषध प्रयोगकर्तामध्ये ७ प्रतिशत महिला प्रयोगकर्ता पाइएको बताइएको छ । प्रयोगकर्ताहरुमध्ये पनि ६९ प्रतिशत अर्थात् ९० हजार भन्दा बढी प्रयोगकर्ताहरू सुईद्वारा लागुऔषध प्रयोग गरेको पाइएको तथ्याङ्क छ । सर्वेक्षणले नेपालमा लागुऔषध प्रयोगकर्ताहरूको संख्या २०६३ सालको पहिलो सर्वेक्षणको तुलनामा तीन गुणाले बढेको र देखाएको छ ।
लागुऔषध प्रयोग कर्ताहरू दिन प्रतिदिन बढ्दै जानुले नेपाली समाजमा थप चिन्ता पैदा गरेको रिकभरिङ नेपालका कार्यक्रम व्यवस्थापक राजु जोशीले बताए । उनले लागुऔषधको प्रयोगकर्ता, व्यापारी वा क्राइमलाई एकै ठाउँमा राखेर नहेर्न सुझाव दिए । उनले कुनैपनि लागूपदार्थ प्रयोगकर्ताले जीवनभर खान्छु र क्राइम गर्दछु भनेर सेवन नगर्ने भन्दै सामाजिक, मनोसामाजिक परिस्थितिबाट सेवन गर्ने गरेको बताए । उनले एउटा लागुऔषध प्रयोग कर्ताले आफ्नो जीवन कसरी त्यहाँसम्म पुर्यायो भन्ने हिसाबले सरकारले साच्न जरुरी रहेको बताए ।
उनले भने ‘लागुऔषधको प्रयोगकर्ता, व्यापारी वा क्राइमलाई एकै ठाउँमा राखेर हेरिन्छ । कुनैपनि लागूपदार्थ प्रयोगकर्ता साथीहरूले जीवनभर खान्छु, म क्राइम गर्छु, म हार्म गर्छु भनेर कसैले प्रयोग गर्दैन । केही सर्टेन अवस्था हुन्छ, विभिन्न सामाजिक, घरको वातावरण, आफ्नो मनोसामाजिक चिन्ता विविध पक्ष छन् । एउटा लागुऔषध प्रयोग कर्ताले आफ्नो जीवन कसरी त्यहाँसम्म पुर्यायो भनेर राज्यले कहिल्यै सोचेन ।’
उनले नेपालमा अधिकांश (७५ प्रतिशत भन्दा बढी) प्रयोगकर्ताहरू १५ देखि २४ वर्ष उमेर समूहका रहेको बताए । उनीहरूलाई फौजदारी मुद्दा वा दण्डको सट्टा तथ्यमा आधारित उपचार सेवाहरूको पहुँच प्रदान गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्