लमजुङ : लमजुङमा दुई जना युवामाथि खुकुरी प्रहार भएको छ । सुन्दरबजार नगरपालिका-९ स्थित इलाका प्रहरी कार्यालय भोटेओडार नजिकै मंगलबार दिउँसो २ युवामाथि खुकुरी प्रहार भएको हो ।
खुकुरी आक्रमणबाट दूधपोखरी गाउँपालिका-६ गौडा निवासी ४२ वर्षीय लिलाजंग गुरुङ गम्भीर घाइते र दोर्दी गाउँपालिका-४ निवासी ४० वर्षीय मंगलराज गुरुङ सामान्य घाइते भएका छन् । लिलाजंगको टाउकोको अगाडिको भागमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते उनलाई भोटेओडार अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ । मंगलराज भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सुन्दरबजार नगरपालिका-९, बालुने टोलका आकाश भन्ने ३० वर्षीय केशव घले, दोर्दी गाउँपालिका-५, पाचोकका ३६ वर्षीय भीमसेन गुरुङ, दोर्दी गाउँपालिका-६, ताँजेका ३१ वर्षीय पूर्णबहादुर तामाङ र दोर्दी गाउँपालिका ७, लप्सीबोटका ३८ वर्षीय प्रवीण गुरुङलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्