मोरङमा एमालेको कारबाहीमा परे जिल्ला अध्यक्षका आकांक्षी

विराटनगर : नेकपा एमालेको विराटनगर महानगरपालिका कमिटीका अध्यक्ष सागर थापा कारबाहीमा परेका छन् ।पार्टी हित विपरीत काम गरेको आरोप लगाएर एमालेको मोरङ जिल्ला कमिटीले थापाको जिम्मेवारी खोसेको हो ।

थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट विराटनगरको मेयरको उम्मेदवार थिए । दुई पटक विराटनगर महानगर कमिटी अध्यक्षको जिम्मेवारीमा रहेका थापा मंसिरमा हुने एमालेको जिल्ला अधिवेशनमा अध्यक्षको आकांक्षी हुन् ।

Dengue

अधिवेशनको पूर्वसन्ध्यामा मानगढ खानेपानी आयोजनाको उपभोक्ता समितिको निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको भन्दै जिल्ला कमिटीले थापाको जिम्मेवारी खोसेको हो ।

खानेपानी उपभोक्ता समितिको अध्यक्षमा एमाले मोरङ जिल्ला अध्यक्ष तथा सांसद ऋषिकेश पोखरेल र अधिवेशन आयोजक कमिटी संयोजक बाबुराम कार्कीको समर्थन रामबहादुर घिमिरेलाई थियो । घिमिरे २६ वर्षदेखि खानेपानी उपभोक्ता समितिको अध्यक्ष छन् । पछिल्लो पटक खानेपानी उपभोक्ता समितिका लागि ४१ लाख रुपैयाँ पर्ने जग्गा ८४ लाख रुपैयाँमा खरिद गरेको विवादमा उनी मुछिएका छन् ।

खानेपानी उपभोक्ता समितिको निर्वाचनमा विराटनगर महानगर कमिटीको समर्थन भने अर्का उम्मेदवार लालमणि भट्टराईलाई थियो ।

१९ जेठमा सुरु भएको मतदानका क्रममा विवाद भएपछि भोलिपल्टका लागि मतदान सारिएको थियो । त्यस क्रममा निर्वाचन समितिका सदस्यहरुले राजीनामा दिएका थिए । निर्वाचन समितिले राजीनामा दिएपछि खसेको मत गणना गर्ने कि पुनः मतदान गर्ने भन्ने विवाद उच्च अदालत विराटनगरमा पुगेको छ ।

त्यसपछि एमाले जिल्ला कमिटीले महानगर कमिटी अध्यक्ष सागर थापा, नगर उपसचिव नवराज नेपाल र वडा नम्बर ३ का अध्यक्ष समेत रहेका अध्यक्षका उम्मेदवार लालमणि भट्टराईको जिम्मेवारी खोसेको छ ।

पार्टीभित्रको गुटगत विवाद र जिल्ला अध्यक्षमा दाबी गरेका कारण थापालाई उम्मेदवार नै बन्न नपाउने गरी कारवाही गरिएको एमाले नेताहरु बताउँछन् ।

‘खानेपानी उपभोक्ताको चुनावको नाममा अध्यक्षको दाबेदारलाई उम्मेदवार नै बन्न नदिने गरी रिङआउट गरियो’, नेकपा एमाले स्रोत भन्छ, ‘नेतृत्वको विरोध गर्दा भीम रावलको अवस्था कस्तो भयो, सागरलाई भीम रावलकै अवस्थामा पुर्‍याइदिने भन्दैछन् ।’

सागर थापालाई कारवाहीको पत्र बुझाएका अधिवेशन आयोजक समिति संयोजक बाबुराम कार्की पनि आलोचित छन् ।

‘एमालेमा अध्यक्षको दाबेदार सागर र बाबुराम हुन्, सागर कारवाहीमा परे, कारवाही गरेका कारण बाबुराम विवादित भए’, एमाले स्रोत भन्छ, ‘अध्यक्षमा तेस्रो व्यक्तिको रुपमा पर्शुराम बस्नेतलाई अघि सार्ने तयारी छ, त्यसका लागि सागरलाई सुरुमा रिङआउट गरियो ।’

सागर थापा एमालेभित्र विनोद ढकालको समूहमा छन् । २०८० असोजको ११ र १२ गते भएको कोशी प्रदेश अधिवेशनमा ढकाल अर्का नेता घनश्याम खतिवडासँग अध्यक्षमा पराजित भएका थिए । त्यसबेला केपी ओलीसहित केन्द्रीय नेताको समर्थन खतिवडालाई थियो । उक्त अधिवेशनमा ढकालको पक्षमा खुलेर लागेका अधिकांश नेताहरु मोरङमा जिम्मेवारीविहीन छन् ।

‘जिल्लामा विनोद ढकालको पकड राम्रो छ, अधिवेशनमा उनको पक्षलाई कमजोर बनाउन अहिले छानिछानी कारवाही गरिएको हो’, ढकाल निकट एक नेताले भने, ‘खानेपानीको चुनावमा कारवाहीमा परेका सबै नेता ढकाल निकट हुन् ।’

एमालेको कारवाहीमा परेका सागर थापा पनि आफू पार्टी अध्यक्षको आकांक्षी भएकै कारण खानेपानी उपभोक्ता समितिको चुनावको विवादमा विधान विपरीत कारवाही गरेको बताउँछन् ।

‘पार्टी अधिवेशन नजिकिदैछ, कार्यकर्ता तहमा अध्यक्षको दाबेदार भएर प्रस्तुत हुँदा पार्टीको कारवाही गरियो’, थापा भन्छन्, ‘प्रतिसोधपूर्ण रुपमा कारवाही गरिएको छ ।’

उनले पार्टीले निर्णय नै नगरेको विषयमा आफूखुसी केही नेताले विधान विपरीत कारवाही गरेको बताए ।

नेकपा एमाले मोरङ जिल्ला अधिवेशन आयोजक कमिटी संयोजक बाबुराम कार्की अध्यक्षको आकांक्षी भएकै कारण कारवाही नगरिएको बताउँछन् । खानेपानीको चुनावमा पार्टीको निर्णय विपरीत उम्मेदवारलाई समर्थन गरेका कारण स्पष्टीकरण सोधिएको र जवाफ नदिएका कारण कारवाही गरिएको उनले बताए ।

‘उहाँ अध्यक्षको दाबेदार भएका कारण कारवाही गरेको होइन, दाबेदार रहेको कुरा जानकारीमा छैन’, उनले भने,‘ पार्टीको निर्णय विपरीत कार्य गर्नुभएको देखियो, जिल्लाको निर्णय विरुद्ध उहाँले प्रदेशमा निवेदन दिन सक्नुहुन्छ, मैले प्रदेशमा निवेदन दिनुस् भनेको छु ।’

कार्कीले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेका कारण शुक्रबार थापालाई जिम्मेवारीबाट हटाएको बताए । तर थापा भने मानगढ खानेपानी आयोजनाको निर्वाचनमा पार्टीले आधिकारिक रुपमा उम्मेदवार नै अघि नसारेको बताउँछन् ।

‘पार्टी नेतृत्वलाई आग्रह गर्दा निर्णय गरेर कुनै उम्मेदवारको नाम दिइएन, निर्णय नै नभएको विषयमा गरिएको अनुसाशनको कारवाही प्रतिशोधपूर्ण छ’, उनले भने, ‘मेरो राजनीतिमाथि प्रतिशोध साधियो ।’

खानेपानीको निर्वाचनमा उम्मेदवारलाई असहयोग गरेका कारण एमालेले जिल्ला सदस्य मुकेश बुढाथोकी, नगर कमिटी सदस्य सुरज न्यौपाने र सन्दीप पोखरेलसँग पनि स्पष्टीकरण मागेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार