जनमतमा गएको डेढ वर्षमै मुख्यमन्त्री

काठमाडौँ : मधेश जनअधिकार फोरम लोकतान्त्रिकले २०६९ सालमा शरदसिंह भण्डारीलाई पार्टीबाट निष्काशन गर्‍यो। त्यसपछि भण्डारीले नयाँ दल बनाए, राष्ट्रिय मधेश समाजवादी पार्टी।

त्यही दलमा लागेर सतिश सिंहले राजनीतिक शुरू गरेका थिए। आर्थिक रूपमा सम्पन्न परिवारका उनी राष्ट्रिय मधेश समाजवादी पार्टीको सप्तरी अध्यक्ष बनेका थिए। त्यसयता पटक पटक दल परिवर्तन गर्दै अहिले मधेशको मुख्यमन्त्री बनेका छन्।

Dengue

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सरोजकुमार यादव नेतृत्वको मधेश सरसकार ढलेसँगै जनमत पार्टीका नेता सिंहलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो। संसदीय दलको नेता महेश यादव भए पनि जनमत केन्द्रीय नेतृत्वले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।

उनी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मधेशको तेस्रो मुख्यमन्त्री बनेका छन्। उनको मुख्यमन्त्रीसम्मको यात्रा भने रोचक छ।

२०७४ सालमा महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेश जनअधिकार फोरम (गणतान्त्रिक) र शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीबीच एकीकरण भयो। नयाँ दल बन्यो, राष्ट्रिय जनता पार्टी। सिंह पनि नयाँ दल राजपामा सामिल भए।

स्थानीय तहको निर्वाचनमा राजपाबाट तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षका उम्मेदवार बने। अध्यक्षमा निर्वाचित पनि भए।

२०७७ सालमा आएर ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालबीच एकीकरण भयो। नयाँ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल बन्यो। सिह जसपा नेपालमा आबद्ध भए।

लोसपाले २०७९ सालको निर्वाचनमा उनैलाई फेरि गाउँपालिका अध्यक्षको उम्मेदवार बनायो। यस पटक भने उनी नेपाली कांग्रेसका उम्मेदवार अरुणकुमार मण्डलसँग एक हजार ८०८ मतले पराजित भए।

वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अध्यक्षमा पराजित भएपछि असोजमा लोसपा छोडेर जनमत पार्टीमा प्रवेश गरे। प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनाउने सर्तमा उनी जनमतमा प्रवेश गरेका थिए। उनका बुवा शेखर सिंह अहिले पनि लोसपाबाटै राष्ट्रिय सभाका सदस्य छन्।

जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधि सभा सदस्यका लागि सप्तरी-२ बाट उम्मेदवार बन्ने तयारी गरेका थिए। त्यही क्रममा राउतसँग सम्पर्क बढाएका सिंहले  सप्तरी २ ‘क’बाट प्रदेश सभा सदस्यका लागि टिकट पाए। मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई सात हजार ८४२ मतन्तरणले पराजित गर्दै प्रदेश सभा सदस्य निर्वाचित भए।

सिंह अहिले प्रदेश सभाको अर्थ तथा योजना समितिका सभापति थिए। अध्यक्ष राउतको मन जितेका उनी संसदीय दलको नेता नभए पनि मुख्यमन्त्री बन्न पुगेका छन्।

आर्थिक रुपमा सम्पन्न उनको परिवरालाई मधेशमा जमीनदारका रुपमा लिने गरिएको छ। त्यसैले पनि उनले राम्रो क्याम्पसमा शिक्षा हासिल गर्न पाए। प्रारम्भीक शिक्षा तिलाठी कोइलाडीकै स्थानीय स्कूलबाट गरेका उनले राजविराजबाट कलेजको पढाइ पूरा गरेका थिए। त्यसपछी भारतको राँचीबाट उच्च शिक्षा हासिल गरेका थिए। उनले कम्प्युटर शिक्षामा स्नतानक गरेका छन्।

राजनीतिमा आउनुअघि व्यवसायमा संलग्न थिए। जिल्लाका विभिन्न स्थानमा मोटर पार्टस्को पसल चलाउने गरेका थिए।

४२ वर्षीय सिंह जसपा नेपाल छोडेको दुई वर्षपछि पूर्व दलको सरकारलाई हटाउँदै मुख्यमन्त्री बनेका छन्। प्रदेश सरकार बनेयता मधेशमा जसपा नेपालकै नेतृत्व रहेको थियो। पाँच वर्ष लालबाबु राउत मुख्यमन्त्री बनेका थिए भने पछिल्लो दुई वर्ष सरोजकुमार यादव मुख्यमन्त्री थिए।

मधेशमा जसपा नेपाल नेतृत्वको सरकारको विरोध गर्दै खुला राजनीति शुरू गरेको जनमत पार्टी अहिले एमाले, माओवादी र एकीकृत समाजवादीको समर्थन पाएर सरकारको नेतृत्वमा पुगेको छ। दल परिवर्तन गर्दै सत्तामा पुग्दै आएका सिंहलाई गठबन्धनलाई सन्तुलनमा राखेर जनताका अपेक्षा पूरा गर्नुपर्ने चुनौति छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार