प्रहरी प्रमुखमाथि कारबाहीको माग गर्दै नेपालगञ्जकाे गर्मीमा महिलाहरूको धर्ना  

नेपालगन्ज : पश्चिम तराईमा चर्को गर्मी छ । नेपालगञ्जको तापक्रम यतिबेला ४२-४३ डिग्री आसपास पुगेको छ । दिउँसो घरबाहिर निस्कन सक्ने स्थिति छैन । तर, महिला अधिकारकर्मीहरू भने बाँके प्रहरी प्रमुख तुलबहादुर कार्कीले निर्दोष महिलालाई अपराधमा फसाउन लागेको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् ।

अधिकारकर्मी रुबी खानको नेतृत्वमा महिलाहरूले ६ दिनदेखि धर्ना दिइरहेका छन् । जानकी गाउँपालिका- २, बकोटीयाको फुलपुरवा र दमादन पुरवाबीच भएको हत्याको घटनामा एकल महिला माहेलका तेलीलगायत गरिब तथा ज्याला-मजदुरीबाट निर्वाह गर्ने व्यक्तिलाई फसाउन लागिएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले प्रहरी प्रमुख कार्की र अनुसन्धान अधिकृतमाथि कारबाहीको माग गरेका छन् ।

Dengue

‘घटनासँग कुनै सम्बन्ध नभएकी एकल महिलालाई जर्बजस्ती मुद्दा लगाउन खोजिएको छ । दिनभर उभ्याउने, यातना दिने र अनेक धाकधम्की दिने काम रोक्नुपर्ने हाम्रो माग छ,’ अभियन्ता खानले भनिन् ।प्रहरीले अपराधसँग नजोडिएका अभियन्तालाई पक्राउ गर्ने र महिला हिंसाका वास्तविक दोषीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै माग सम्बोधन गर्न २३ जेठसम्मको अल्टिमेटम दिएका छन् । ‘बिना आधार प्रहरीमा बोलाएर उभ्याएको छ, फसाउने षड्यन्त्र भइरहेको छ । गरिब र मजदुरको मानवअधिकार हुँदैन ?,’ खानले भनिन्, ‘२३ जेठसम्म गल्ती नसच्याए हामी आमरण अनशन बस्छौँ ।’  

कसैलाई जबर्जस्ती दोषी करार गर्न लागेको प्रहरीले महिला हिंसाका अधिकांश अनुसन्धान भने पूरा नगरेर अधुरै छाडेको आरोप महिला अधिकार मञ्चकी अध्यक्ष मनकुमारी गुर्तालले लगाइन् । निर्मला कुर्मी अपहरण तथा हत्या आशंका गर्दै खान नेतृत्वमा भएको शृंखलाबद्ध आन्दोलनपछि प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्थलगत अनुसन्धान टुंग्याएर २६ पुस २०८० मा प्रतिवेदन जिल्ला प्रहरीमा बुझाइए पनि अहिलेसम्म अदालतमा नलगिएको प्रति पनि उनीहरूको आक्रोश छ ।   

त्यस्तै, बाँके रझेनाकी सुमदरानी थारुको बलात्कारपछि हत्या भएको एक वर्षसम्म पनि अभियुक्त पक्राउ नपरेको, पाँच वर्षीया बालिकामाथि खुकुरी प्रहार भएको घटना पनि प्रहरीले अनुसन्धान गर्न नसकेको लगायतका आरोप उनीहरूको छ । 

बाँके प्रहरी प्रमुख कार्की भने एउटा हत्याको अनुसन्धानका क्रममा शंकास्पद देखिएका व्यक्तिमाथि सोधपुछ र छानबिन हुनुलाई अन्यथा भन्न नमिल्ने दाबी गर्छन् । ‘दोषी वा निर्दोष अनुसन्धानपछि पत्ता लाग्ने कुरा हो । अहिल्यै भन्न मिल्दैन । हत्या भएका व्यक्तिको साइकल र चप्पल फेला गरेको र पीडित पक्षबाट जाहेरी आएकाले अनुसन्धानको दायरा राखिएको हो,’ उनले भने, ‘अभियन्ताले छाड्दे भन्दैमा छाड्न मिल्दैन ।’ 

निर्मला कुर्मी प्रकरणमा पनि सीआईबी अनुसन्धान अन्तिम चरणमा पुगेकाले छिट्टै मुद्दा जिल्ला न्यायधिवक्ताकहाँ बुझाइने उनले प्रस्टीकरण दिए । ‘भदौसम्म टुंगिन्छ । हामी सरकारी वकिलको कार्यालयमा बुझाउँछौँ, मुद्दा चलाउने वा नचलाउने निर्णय त्यसले गर्छ,’ प्रहरी उपरीक्षक कार्कीले भने । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार