ओलीलाई माओवादीको जवाफ- बजेट हामीतिर ढल्किएको भए भौतिक मन्त्रालयमा दोब्बर कसरी पर्‍यो ?

काठमाडौं : सत्ता समीकरणको सबैभन्दा ठूलो घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाएका छन् । पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएको टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनले आफूहरुसँग सल्लाह नै नगरी बजेट ल्याएको उनको संकेत थियो ।

Dengue

ओलीले भनेका थिए, ‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुनसक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो बढ्ता देखिन गएको छ । रकमको बाँडफाँट पनि त्यसैगरी एकातिर ढल्किए जस्तो देखिन्छ ।’

उनले बजेट निर्माण प्रक्रियामै गम्भीर त्रृटि रहेको उल्लेख गर्दै सकारात्मक पक्ष र कमीकमजोरी हेरेर प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए । अध्यक्ष ओलीले बजेटमा केही नीतिहरूमा उल्झनपूर्ण, केही शब्दहरू उपयुक्त नहुने र प्रयोग भएका शब्दको भावको अर्थ र महत्व बोक्न नसक्ने खालको रहेको भन्दै असन्तोष पोखेका थिए ।

उनले बजेट जे जस्तो आएको भए पनि समर्थन गरेर पारित गरेर अघि बढ्नुपर्ने बाध्यात्मक परिस्थिति सुनाएका थिए ।

तर, एमाले अध्यक्ष ओलीले आफूहरुसँग कुनै छलफल नै नगरी बजेट ल्याएको भन्ने कुरा स्वीकार्न तयार छैनन् माओवादीका सचिव देवेन्द्र पौडेल ।

बजेट सल्लाहमै आएको भन्दै उनले बजेटमा क्याबिनेटमा मन्त्रालयहरुबाट आउने योजना नै आउने बताए ।

तर, केपी ओलीले त यो माओवादीतिर मात्रै ढल्किएको छ भन्ने अभिव्यक्ति दिनुभयो नि भन्ने जिज्ञासामा उनी भन्छन्, ‘त्यो उहाँले कसरी भन्नुभयो हामीलाई जानकारी भएन । तर, सल्लाहमै आएको हो । समझदारीमा बजेट नआएको भए भौतिक मन्त्रालयमा सबैभन्दा धेरै कसरी हुन्छ । पोहोरको भन्दा दोब्बर छ ।’

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ छन् । एमालेका सचिवसमेत रहेका महासेठ एमालेको नेतृत्व गरेर प्रचण्ड सरकारमा छन् ।

माओवादी नेता पौडेलले ओलीले भनेका एकदुई वटा योजना छुटेको हुनसक्ने भए पनि सल्लाह नै नभएको भन्ने कुरामा सत्यता नभएको जिकिर गरे ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गरेको बजेटमा भोलिबाट प्रतिनिधिसभामा छलफल हुँदैछ । ओलीले बजेटको आलोचना गरे पनि प्रधानमन्त्री प्रचण्डले सन्तुलित र समाजवादउन्मुख बजेट ल्याएको भन्दै अर्थमन्त्री पुनको हिजो बसेको संसदीय दलको बैठकमा प्रशंसासमेत गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार