अमेरिकी भिसाका लागि सन्दीपको दोस्रो आवेदन पनि अस्वीकार, क्यान अध्यक्ष भन्छन्, ‘तेस्रो पटक पनि पहल गरेका छौं’

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले भिसाका लागि दिएको दोस्रो आवेदन पनि अमेरिकी दूतावासले अस्वीकार गरेको छ । टी-२० विश्वकपमा सहभागी हुन उनले भिसाका लागि आवेदन दिएका थिए ।

तर, लगातार दुई पटक नै दूतावासले भिसा दिन अस्वीकार गरेको हो । नेपाल क्रिकेट संघ क्यानको पहलमा लामिछानेले तेस्रो पटक पनि आवेदन दिएका छन् ।

Dengue

क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘पहिलो पटक रिजेक्ट गर्‍यो । हाम्रो पहलमा भएको दोस्रो पटकमा पनि अन्तवार्ता लिएर ‘सरी’ भनेर रिजेक्ट गरिदियो । तेस्रो पटकको लागि ‘अप्लाइ’ गरेका छौँ ।’

दोस्रो पटक पनि आफ्नो निवेदन अस्वीकार भएपछि लामिछानेले सोमबार सामाजिक सञ्जालमा आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी भएको लेखेका छन् । यद्यपि उनले स्टाटसमा भिसा रिजेक्ट भएकोबारे केही लेखेका छैनन् ।

यसअघि गत बुधबार भने उनले आफूलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको भन्दै स्टाटस लेखेका थिए । त्यसपछि उनलाई भिसा दिलाउन क्यानले संस्थागत पहल गरेको थियो । खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयले पनि पहल गरेका थिए ।

सन्दीपको भिसा प्रक्रियामा आफूहरूले आवश्यक सबै पहल गरेको अध्यक्ष चन्दले बताए । ‘क्यानको हातमा त अहिले केही पनि छैन’, उनले भने, ‘सक्यो भने सरकारले नै हो । सरकारले नै सकेन भने अब के भन्न सकिन्छ र ? हामीले गरेको पहल त रद्द नै गरिसक्यो ।’

चन्दले सन्दीपको विषयमा सरकारी निकायकै साथको आवश्यकता रहेको बताए । उनले सरकारले नै पहल गर्‍यो भने लामिछानेको भिसा उपलब्ध हुन सक्ने सम्भावना बाँकी रहेको बताए ।

तेस्रो पटकको आवेदनको परिणाम बुधबारसम्म थाहा हुने चन्दले बताए । यदि भिसा पाएर लामिछाने जुन २ सम्म अमेरिका पुग्न सकेमा टोलीमा समावेश हुनसक्ने चन्द बताउँछन् ।

उनले सन्दीप नेपाली टोलीका लागि महत्त्वपूर्ण खेलाडी भए पनि उनको अनुपस्थितिमा पनि नेपाली टोलीले राम्रो नतिजा दिने बताए ।

‘हाम्रो टोली राम्रो नै छ । सन्दीप टोलीमा भइदिएमा ‘सुनमा सुगन्ध’ हुन्थ्यो, अध्यक्ष चन्दले भने, ‘तर, भिन्नभिन्न देशको आफ्नै कानून छ । त्यसमा हामीले केही भन्न मिल्दैन । हरेक देशको कानूनको सम्मान त गर्नै पर्‍यो । हाम्रो प्रयास जारी नै छ । हरेश खाएका छैनौँ ।’

जिल्ला अदालत, काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत, पाटनले सफाइ दिएको थियो । लगत्तै क्यानले लामिछानेको निलम्बन फुकुवा गरेको थियो ।

टि -२० विश्वकप जुन २ देखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार