कालोपत्र गरिएको सडकमा ४ महिनामै उम्रियो घाँस

लम्की : कालोपत्र गरेको सडकमा ४ महिनामै घाँस उम्रिएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–३ को व्यवस्थित नगरमा पुसको अन्तिममा गरिएको कालोपत्र सडकमा घाँस (दुबो) उम्रिएको हो। 

सडकका विभिन्न भागमा कालोपत्रसमेत उप्किन थालको छ। निर्धारित समयभन्दा निकै ढिलो निर्माण भएको सडक गुणस्तरहीन रहेकाले घाँस उम्रिएको छ। 

Dengue

सडकमा छोटो समयमै भत्किन र घाँस उम्रिन थालेपछि स्थानीय छक्क परेका छन्। कालोपत्र गरिएको सडकको बीच भागमा घाँस उम्रिएपछि स्थानीय आक्रोशित बनेका छन्। वर्षौंदेखि हिलो र धुलो भएको सडकमा आवतजावत गरिरहेका स्थानीय सडक कालोपत्र भएपछि खुशी भएका थिए। 

कालोपत्र गरिएको ४ महिना नबित्दै सडकमा घाँस उम्रिन थालेपछि ठेकेदार कम्पनीले गुणस्तरीय काम नगरेको स्थानीय कृष्णप्रसाद देवकोटाको आरोप छ।

उनले भने, “सडक निर्माणका क्रममा नै विभिन्न त्रुटि देखिएको थियो। बेस र सब-बेस मिलाउँदा राम्रोसँग काम भएको देखिएन, त्यो वेला हामीहरुले आवाज उठाउँदा कसैले पनि सुनेन।” 

सडक कालोपत्र भइरहेका समयमा सम्बन्धित निकायको बेवास्ताका कारण यस्तो अवस्था सिर्जना भएको स्थानीयको आरोप छ। 

ठेकेदार कम्पनी र नगरपालिकाको लापरबाहीकै कारण सडकको छेउछाउदेखि बीच भागमा घाँस उम्रिन थालेको स्थानीय कमल न्यौपानेले बताए। 

न्यौपानेले भने, “सडक निर्माणका क्रममा काम गुणस्तरहिन भइरहेको छ भनेर हामीले जनप्रतिनिधिलाई खबर गर्‍यौँ तर उहाँहरु बेखबर हुनुभयो।”

प्राविधिक गडबडीका कारणले नै सडक गुणस्तरहिन भएको लम्कीचुहा–३ का धर्मराज तिमिल्सिना बताउँछन्।

“शुरुको समयमा बेस हालेको २/३ महिनाभित्र कालोपत्र गर्नुपर्ने हो, त्यो गरिएन। बेस हालेको १७/१८ महिनापछि कालोपत्र गरिँदा यो समस्या आएको हो”, तिमिल्सिनाले भने।

लम्कीचुहा–३ का वडाध्यक्ष लवबहादुर शाहीले सडक निर्माणमा केही त्रुटि भएको बताए। योजनाको आगत अनुमानअनुसार गुणस्तरीय काम गर्न आफूले ठेकेदारलाई ताकेता गरिरहेको बताए।

नगर उपप्रमुख जुना चौधरीले कालोपत्र गरेको छोटो समयमै सडकमा घाँस उम्रिएको र कालोपत्रसमेत उप्किन लागेकाले सड्कको अनुगमन गरेर गुणस्तर जाँचका लागि नमुना ल्याबमा पठाइएको बताइन्।

नगर प्रमुख सुशीला शाहीले मापदण्डअनुसार सडक निर्माण नभएको पाइए योजनाअनुसारको रकम भुक्तानी नहुने बताइन्। 

लम्कीचुहाका इञ्जिनियर प्रशान्त अधिकारीले सो सडकको निर्माण गुणस्तरहिन भएको बताए। उनले भने, “सडक कालोपत्र गर्मीका समयमा हुनुपर्ने हो तर भएन ठेकेदारले पुसको अन्तिममा शीतलहर परिरहेका समयमा नै गर्नु पहिलो त्रुटि देखिन्छ।”

१ हजार २ सय मिटर लम्बाइ रहेको उक्त सडक निर्माणको जिम्मा सुलभ एण्ड शुष्मिता कन्ट्रक्सन प्रालिले पाएको थियो। सुदूरपश्चिम प्रदेशको ६३ लाख २३ हजार ६३० रुपैयाँमा लागत सम्झौता भएको सडक निर्माणको सम्झौता २०७८ कात्तिक १५ गते भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार