सास वा लास जे भए पनि ल्याइयोस् : रूसी सेनामा गएका परिवारको बिलौना

तुलसीपुर : तुलसीपुर उपमहानगर-१७ हेमन्तपुरकी ३७ वर्षीया सिरानी घर्ती मोबाइलमा घन्टी बज्नासाथ श्रीमान्‌को फोन आयो भनेर झटपट फोन हेर्छिन्।  यस्तै आशमा उनी बसेको ५ महिना हुनै लाग्यो‚ लोग्नेसँग सम्पर्क छैन।

हातमा लोग्नेको फोटो हुन्छ। सिरानीको टाउकोमा ऋणको भारी छ। २ छोरा र एक छोरीसहित उनी लोग्नेको फोन आउने आशमा बसेकी छन्। नेपाली सेनामा काम गरेका मैतमान घर्ती काठमाडौँमा सुरक्षा गार्डको काम गर्थे। गार्डको तलबले घरपरिवार र छोराछोरी पाल्न गाह्रो हुने भन्दै विदेश जाने सोच बनाएका थिए।

Seti Hospital

काठमाडौँमा रहेका उनले युरोप जाने तयारी पनि गरेका थिए। युरोप जान समय लाग्ने भएपछि उनले भिजिट भिसामा विदेश जाने भनेर श्रीमतीलाई कात्तिक ३-४ गतेतिर पैसाको जोहो गर्न लगाए। श्रीमती सिरानीले पनि लोग्नेले भनेअनुसार आफन्तबाट सरसापट गरी करिब १२ लाख काठमाडौँमा पठाइदिन्। उनलाई लागेको थियो, लोग्ने भिजिट भिसामा गएर छिट्टै फर्कने छन्। मैतमान कात्तिक ६ गते नेपालदेखि दुबई भिजिट भिसामा उडे।

उनले उड्ने वेला घरमा फोन गरेका थिए, उनले पीर नमान्नु भनेर सम्झाएका थिए। कुन देश जान लागेको भन्ने बताएनन्। उनी विमानस्थल पुगेका वेला फोन सम्पर्क हुँदा ‘म अहिले चेकिङमा छु, हामीलाई फरक बाटोबाट एयरपोर्ट छिराएको छ, अहिले भन्न मिल्दैन’ भन्ने जवाफ दिएका थिए।

दुबई गएको भोलिपल्टै फोन गरेर म दुबई आएको छु। आज रूस जाँदै छु भनेका थिए। उनले भनिन्, ‘मलाई त रूस पनि भिजिट भिसामा जान लाग्नुभएको होला। त्यहाँबाट छिटै आउनु हुन्छ भन्ने लागेको थियो। उहाँले म रूसी सेनामा भर्ना हुन जाने हो भनेपछि निकै डर लाग्यो। अहिले त्यहाँ लडाइँ छ‚ किन भर्ना हुने भन्दा केही हुन्न भन्नुभयो। नेपालबाट रूस जान लागेको थाहा पाएको भए मैले जान दिन्नथेँ।’

मैतमानले उनलाई एक वर्षको सम्झौता हुने र एक वर्षपछि फर्किने कुरा गरेका थिए। तीन महिनासम्म तालिम गराउने र त्यसपछि मात्र लडाइँमा पठाउने कुरा गरेका थिए। तालिम र खानपिन कस्तो छ भनेर सोध्दा मैतमानले पूर्व सैनिक भएको हुँदा नेपालको भन्दा अप्ठेरो नभएको र खानपिन पनि राम्रै रहेको भनेका थिए। मैतमानले आफूसँगै १५ जना नेपाली रहेको र चिन्ता नमान्न भन्दै सम्झाएका थिए।

उनले भनिन्, ‘३ महिना दिने भनेको तालिम एक महिनामै सकिएछ। मंसिर १२ गतेसम्म श्रीमान् सम्पर्कमा आउनु भएको थियो। त्यही वेला श्रीमानले १५-२० दिनका लागि फोन नलाग्ने ठाउँमा जाँदै छु। सम्पर्क हुँदैन, उताबाट आएपछि कुरा गरौँला भन्नुभयो। त्यसपछि अहिलेसम्म कुनै खबर छैन। हामी निकै चिन्तामा छौँ।’​

मैतमानको फोन कुरेकी उनले एकातिर लोग्नेको कुनै अत्तोपत्तो छैन, अर्कोतर्फ ऋण लिएको पैसा माग्न थालेका भन्दै आफू निकै पीडामा रहेको बताइन्।

यस्तै उनले दुबईबाट रूस जाँदा श्रीमान्‌सँगै विजयबहादुर ठोकर, निराजनबहादुर मगर र पूर्णबहादुर गुरुङ गएको भन्ने कुरा थियो। उनीहरूको ठेगाना थाहा नभए पनि मैतमानका बारेमा थाहा पाए जानकारी दिन आग्रह गरेकी छन्।

उनले आफ्ना दुई छोराहरू साना भएको हुँदा बुवा विदेश गएको मात्र थाहा पाएको र छोरी ठूली भएको हुँदा उसले चिन्ता मान्ने गरेको पनि बताइन्।

लामो समयदेखि कुनै खबर नभएको भन्दै उनले नेपाल सरकारलाई श्रीमान्‌को खोजी गरिदिन आग्रह गरेकी छन्। उनले भनिन्, ‘अहिलेसम्म कुनै खबर छैन। सरकारले सास वा लास जे भए पनि ल्याइदियोस् भन्ने छ। अहिले धेरै नेपाली रूसमा गएर सैनिक बनेको हुँदा सरकारले नेपालीहरूलाई चाँडोभन्दा चाँडो फिर्ता ल्याउनुपर्छ र रूस जान रोक्नुपर्छ।’

छिमेकी बैस रोकामगरले नेपाल सरकारले रोजगारीका लागि त्यस्तो ठाउँमा गएका नेपालीलाई तुरुन्त देश फर्काउन चासो दिनुपर्ने बताइन्।

मैतमानका आफन्त टेकबहादुर बुढामगरले पनि गरिबीका कारण पैसा कमाउने आशामा रूस गइरहेको भन्दै यस्तो काम सरकारले कडाइका साथ रोक्नुपर्ने बताए। उनले भने, ‘हाम्रो मान्छे सम्पर्क नआएको धेरै भयो। हाम्रो मान्छे पनि धनपैसा कमाउने आशामा युद्ध चलिरहेको देशमा गएको हो। धेरै नेपाली युवा अहिले यसरी नै त्यहाँ गएका छन्। कतिको ज्यान गएको छ भने कतिले निकै दुःख पाएका छन्। राज्यले यसतर्फ ध्यान देओस्।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार