एजेन्सी : रोयल मेल सिप अर्थात् आरएमएस टाइटानिक बेलायती पानीजहाज हो । ह्वाइट स्टार लाइन कम्पनीको यो जहाजले यात्रु र चिठ्ठीपत्र बोक्थ्यो । यसको लम्बाइ ८ सय ८२ फुट ९ इञ्च, चौडाइ ९२ फुट ६ इञ्च र १ सय ७५ फुट उचाइ थियो । यसले एकपटकमा ८ सय ७४ जना कर्मचारी र २ हजार ४ सय ५३ यात्रु गरी कूल ३ हजार ३ सय २७ जना यात्रु बोक्ने क्षमता राख्थ्यो । जहाज सन् १९१२ को अप्रिल १० मा इंग्ल्याण्डको साउथह्याम्प्टनबाट निस्क्यो । न्युयोर्क शहरको लागि छुटेको छैंटौं दिन अर्थात् अप्रिल १४ को राति ११ः४० मा एटलान्टिक महासागरस्थित एउटा हिमचट्टानमा ठोक्किन पुग्यो । दुर्घटनामा परेको करिब २ घण्टा ४० मीनेटपछि अर्थात् अप्रिल १५ मा जहाज पूर्णतः समुद्रमा डुब्यो । जहाजमा कूल २ हजार २ सय २४ जना यात्रु थिए । तीमध्ये १ हजार ५ सय १७ को मृत्यु भयो । सो जहाजको यो नै पहिलो र अन्तिम यात्रा थियो । ३ हजार मजदुरले ३ वर्ष लगाएर बनाइसकेपछि अप्रिल २ मा मात्र समुद्रमा परीक्षण गरिएको थियो र ८ दिनपछि यसले व्यावसायिक यात्रा शुरु गरेको थियो । सामुद्रिक इतिहासमा यो नै पहिलो भयानक दुर्घटना हो । जसलाई लिएर संसारमा अनेक मिथक र कथा बनेका छन् । सन् १९९७ मा रिलिज भएको बहुचर्चित चलचित्र ‘टाइटानिक’ पनि यसै घटनामा आधारित छ ।
दुर्घटनामा मृत्यु हुने १५१७ जनामध्ये बेञ्जामिन गुगेनहाइम पनि थिए । ब्यापारी घरानाका अमेरिकी नागरिक उनी ‘उपपत्नी’ लियोन्टाइन औबर्ट, स्वकीय सचिव भिक्टर गिग्लियो, ड्राइबर रेने पेर्नोट, र औबर्टको निजी सचिव एम्मा सजेसरसहित सो जहाज चढेका उनीहरू बी ८४ र बी ३५ केबिनमा थिए । जहाज हिमचट्टानमा ठोक्किँदा मस्त निद्रामा थिए । अकस्मात बेञ्जामिन र गिग्लियोको निद्रा खुल्यो । बेञ्जामिन हतारिँदै लुगा लगाउन थाले । यसमा उनलाई केबिनका भान्छे जेम्स एत्चेसले सहयोग गरे । लाइफबोट चढ्न बेल्ट र एउटा बाक्लो स्वेटर पनि दिए । अनि बेञ्जामिन, गिग्लियो र दुईजना महिलालाई डुंगाको डेकमाथि चढाए । बेञ्जामिनले अन्य महिला र केटाकेटीलाई डेकमा चढाउन सहयोगसमेत गरे । औबर्ट र एम्मा अनिच्छापूर्वक लाइफबोटभित्र छिरे । बेञ्जामिनले ढाडस दिने हेतुले उनीहरूलाई जर्मनी भाषामा भने ‘हामी बिहान भेटम्ला, जहाजको सामान्य मर्मत हुँदै छ ।’
परिस्थिति उनले संकेत गरेभन्दा धेरै गम्भीर बनिसकेको थियो । उनले उद्दार हुन सक्ने क्षीण आशा देखे । उनी र गिग्लियो केबिनमा फर्के अनि सुत्दा लगाउने लुगा फेरे । मर्न तयार हुँदै जहाजको बटनहोलमा एउटा गुलाफको फूल राखे र भने ‘हामीले आफूसित भएकामध्ये राम्रो लुगा लगाइसकेका छौं र अन्य महानुभाव जस्तै ‘तल’ जान तयार छौं ।’
बेञ्जामिनको उक्त निराशायुक्त भनाइ मर्नबाट बचेका भान्छे एत्चेसले सुनेका थिए । बेञ्जामिनले उनलाई भने ‘मलाई केही भइहाल्यो भने न्युयोर्कमा रहेकी श्रीमतीलाई यति कुरो सुनाइदिनु कि मैले आफ्नो कर्तव्य पूरा गर्नमा कुनै कसर छोडिन ।’
एत्चेसको बयान अनुसार अन्तिम डुंगा तल झारिसकेपछि जहाजका अधिकृतको आदेशमा उनीहरूलाई उनले ‘अन्तिम बाई’ गरे । उनले बेञ्जामिन र गिग्लियोलाई देखेको यो नै अन्तिम पटक थियो । पछि दुबै पुरुष, साथै बेञ्जामिनका चालक पेर्नोटको डुबेर मृत्यु भयो। तिनीहरूको शव बरामद त भयो होला तर चिन्न सकिने अवस्थामा थिएनन् । ४६ वर्षीय बेञ्जामिनका एक पत्नी र ३ छोरी थिए । मार्गरेट ‘पेग्गी’ गुगेनहाइम उनी र उनकी पत्नी फ्लोरेट सेलिङमनकी छोरी हुन्, जो पछि कलाकृतिको ठूलो संकलक, सामाजिक र सांस्कृतिक अभियन्ता, कुलिन घरानाकी चर्चित महिला बनिन् । उनले आफूले संकलन गरेका कलाकृतिको समय-समयमा प्रदर्शनी गरिन् । पछि इटलीको भेनिस शहरलाई आफ्नो कर्मभूमि बनाइन् । सम्पूर्ण जीवन त्यहीँ बिताइन् । भेनिसमा उनले खोलेको आधुनिक कला संग्रहालय आज पनि एक महत्वपूर्ण आकर्षण स्थलमध्येको एक हो ।
टाइटानिक जहाज समुद्रमा डुबेर बाबु बेञ्जामिनको मृत्यु हुँदा पेग्गी मात्र १४ वर्षकी थिइन् । सन् १९१९ मा जब २१ वर्षको भइन्, आमाबाबुको सम्पत्तिको हकदार र २५ लाख डलरको मालिक बनिन् । अर्को वर्ष पेरिसमा बसाइँ सरिन् । अब उनको हिमचिम चर्चित कलाकार, लेखक, साहित्यकारहरूसित हुन थाल्यो । उनीहरू प्रायः गरिबीमा जीवन निर्वाह गरिरहेका हुन्थे । तीमध्येकै हुन्– मन रे । मन अमेरिकी चित्रकार तर कर्मभूमि पेरिसलाई बनाएका थिए । उनले कोन्स्टान्टिन बरान्कुसी र मार्सेल डुचुम्पजस्ता महान् चित्रकार र मूर्तिकारसँगै राखेर पेग्गीको फोटो खिचे र ब्यापक प्रचार गरिदिए । यसबाट चित्रकारद्वयको पनि ठूलै प्रचार भयो । अमेरिकी लेखक नतालिया बार्ने, चित्रकार रुमानी ब्रुक्स र कार्टुनिस्ट तथा पत्रकार ड्जुना बार्नेस त उनको अनन्य मित्र नै बने । सन् १९३८ मा पेग्गीले लण्डनमा आधुनिक कला ग्यालरी खोलिन् । ग्यालरीमा जति पनि कला प्रदर्शनी हुन्थ्यो, सबैको कम्तीमा एउटा कलाकृति किन्थिन् । उनले खोलेको आर्ट ग्यालरीमा पाब्लो पिकासोलगायत युरोपका सबै ठूला–साना चित्रकारले कला प्रदर्शनी गरे । दोस्रो विश्वयुद्ध शुरु भएपछि लण्डन छाडिन् । यसबीच धेरै कलाकृति संकलन गरिसकेकी थिइन् । युद्ध पश्चात् पनि धेरै कलाकृति किनिन् र कला संग्रहालय नै बनाइन् ।
पेग्गीको युरोप बसाई अत्यन्त रंगीन हुने गथ्र्याे । मोज मस्तीको जीवन । उनको जीवनी लेखक एन्टोन गिलका अनुसार पेग्गीले १ हजारभन्दा बढी पुरुषसँग शारीरिक सम्बन्ध राखिन् । उनले हाकाहाकी युरोपका अत्यन्त चर्चित चित्रकार, मूर्तिकार, लेखक, साहित्यकारसित सुतेको दाबी गरिन् भने कतिपय साहित्यकार, चित्रकार आफैँँ पनि पेग्गीसंग रात बिताएको बखान गर्छन् । यो कुरोलाई पेग्गी आफ्नो स्वतन्त्रता र मुक्तिको कुरो ठान्छिन् । एक पटक साहित्यलाई संगीत र अभिनयमार्फत व्याख्या गर्ने अमेरिकी लेखक थोमस स्चिपर्सले उनीसित सोधे, ‘तपाईंको कति जना लोग्ने छन् ?’ उनले हाँस्दै जवाफ दिइन्, ‘मेरै मात्र लोग्नेको कुरो भनम् कि अरुका लोग्नेको पनि कुरो गरम् ?’
उनले आफ्नो आत्मवृत्तान्तमा केही व्यक्तिको नाउँ नै तोकेकी छन् । जस्तो आइरिस कवि, उपन्यासकार, लघुकथा लेखक स्यामुयल बेकेट, फ्रान्सिसी चित्रकार युभेस ताङुइ, ब्रिटिश कवि तथा इतिहासकार रोलाण्ड पेनरोज, बेल्जियम लेखक इ.एल.टी. मेसेन्स, ब्रिटिश साहित्यिक समालोचक जोन फेरार होम्स । पेग्गीले सन् १९२२ मा २४ वर्षको उमेरमै लेखक र चित्रकार लरेन्स भाइलसँग बिहे गरेकी थिइन् । भाइलबाट उनका दुई सन्तान भए । पछि दुबैबीच सदाझैँ झगडा हुन थाल्यो । भाइलले एकपटक झण्डै बाथटबमा डुबाएर पेग्गीलाई नमारेको । ६ वर्षपछि अलग्गिए । दोश्रो बिहे जर्मन पेन्टर मैक्स अर्न्स्टसँग गरिन् । मैक्स र उनको भेट दोश्रो विश्वयुद्धमा भएको थियो । सन् १९४५ मा मैक्सले अर्की चित्रकार डोरेथिया तानिङलाई भेटेपछि पेग्गीलाई लात मारेर हिँडे ।
पेग्गी धेरै पुरुषसित सुतिन् । कतिलाई प्रेम गरिन्, कतिसँग शारीरिक सम्बन्ध मात्र राखिन् । प्रसिद्ध आइरिस कवि स्यामुयल बेकेटसँग उनको भेट अर्का आइरिस कवि जेम्स ज्वाइसले निम्त्याएको रात्रिभोजमा भएको थियो । पहिलो भेटमै बेकेट र उनीबीच आकर्षण भयो । दुवै ४ दिन ४ रात सँगै सुते, कोठाबाटै बाहिर ननिस्किकन । कोठा सफा गर्ने केटोले ढोका ढक्ढकाएपछि बल्ल दुबैको मिलनको अन्त्य भएको थियो । उनी आफैँँ निम्फो हुँ भनी स्वीकार्छिन् । अर्थात् अति यौन चाहना भएकी महिला हुँ भन्छिन् । जति शारीरिक सम्बन्ध जोड्यो यौन चाहना झन् बढ्न थाल्ने बताउँछिन् । कला र सेक्स दुबैप्रति उत्तिकै आशक्त पेग्गीको निधन ८१ वर्षको उमेरमा सन् १९७९ मा भइसकेको छ । आधुनिक चित्रकारिताको एक ठूलै अभियन्ता, पारखी र कलाप्रेमी उनी भन्छिन् ‘उमेर ढल्केपछि सेक्सप्रतिको मेरो चाहनामा कमी हुँदै जाला तर म जति बूढी भए पनि कलाप्रतिको प्रेममा कुनै कमी आउने छैन । कुकुर पाल्नमा पनि उत्तिकै सोखिन छिन् । उनको शयनकक्षमा अन्तिम समयमा १४ वटा स–साना कुकुर थिए ।
प्रतिक्रिया दिनुहोस्