काठमाडौं :बुधबार बिहान साढे ८ बजे, काठमाडौं उपत्यका प्रहरी कार्यालयको कन्ट्रोल १०० मा फोन आयो । फोन गर्नेले भने, ‘मैले बुढी छोरी र नातिनीलाई मारेको छु । म पनि मर्न जाँदैछु ’ यति भनेर फोन काटियो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले यो सूचना मोबाइल लोकेसन हेर्ने प्राविधिक टिमसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रिले गर्यो ।
काठमाडौं प्रहरी परिसर र प्रहरी वृत्त सितापाइलामा पनि तत्कालै खबर पुग्यो । एकैछिनमा प्राविधिक टोलीले सूचना फरवार्ड गर्यो‘लोकेसन सीतापाइला भैरागटोल ।’
प्रहरी वृत्त सितापाइलाको टोली घटना भएको भनिएको ठाउँ खोज्दै पुग्यो, नागार्जुन ६ भैरागटोल । पिङ्क कलरको साढे २ तल्ले घरमा प्रहरीले केही मानिस भेला भएको देखे । त्यतिबेला साढे ८ बजिसकेको थियो ।
बद्री चापागाईँको घरमा लागेको भीडलाई पन्छाएर भूइतल्लाको कोठामा छिर्दा लास देखियो ।
प्रहरी टोलीले स्थानीयसँग सोधपुछ गरी घटनास्थलको मुचुल्का उठाउँदै प्रतिवेदनमा लेखे– ‘‘सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भई त्यहाँ डेरामा बस्दै ३८ वर्षीया ईश्वरी श्रेष्ठ, पेटीकोट र चोलो लगाएको, मुख धारिलो हतियारले काटिएको, अनुहार छियाछिया भएको भेटियो । टाउको र शरीरका विभिन्न भागमा चोट लागेकोले धारिलो हतियार प्रहार गरी कसैले कर्तव्य गरी मारेको जस्तो देखिन्छ । लाससँगै मृतक ईश्वरीकी छोरी आठवर्षकी अनिशा श्रेष्ठ र २ वर्षकी नातिनी सिवानीको पनि लास भेटियो । उनीहरूको मृत्युको प्रकृति हेर्दा कर्तव्य गरी मारेको जस्तो देखिन्छ ।’’विवरण यतिमा सीमित थिएन । घटनाको बीभत्स अवस्थाहरू चित्रित थियो । यता प्रहरीले भैरागटोलमा लास जाँच प्रकृति मुचुल्का उठाउँदै माथि सूचना रिले गर्दै थियो ।
प्रहरीमा आएको सूचना सत्य भएको भेरिफाई भएपछि सूचना दिनेको खोजीमा अर्को प्रहरी टोली थप सक्रिय भयो । तर, सामूहिक हत्या गरेर आत्महत्या गर्न जाँदैछु भन्नेको मोबाइल अफ भइसकेको थियो ।
उनको अन्तिम लोकेसन नागार्जुन–५ सितापाइला हरिसिद्धी थियो । प्रहरीले त्यहाँ पुगेर वरपर खोजी गर्र्याे । सुधा तामाङको घरभन्दा केहीमाथि ढल्किएको रुखमा केही बस्तु जस्तो देखियो ।
अलि पर गएर हेर्दा थाहा भयो, हल्का ढल्किएको रुखमा मान्छे झुन्डिएको रहेछ । प्रहरी टोली र स्थानीय सँगै गएर हेरे । उनी जिउँदा थिएनन् । उनको साथमा रहेको मोबाइल अन गरेर प्रहरीले हेर्यो ।
पत्ता लाग्यो, प्रहरीले जस्तो खोजीमा हिँडेका थिए, उनै रहेछन् । जसले प्रहरीको कन्ट्रोल १०० मा फोन गरेर श्रीमती छोरी र नातिनीको हत्या गरेको बताएका थिए । र आफू पनि आत्महत्या गर्न जाँदैछु भनेका थिए ।
घटनाले काठमाडौंमा सनसनी मच्चियो । ‘तीन जनाको हत्या, त्यही माथि अवोध केटाकेटीसमेत । शान्त सीतापाइला भैरागटोलकाबासी भयानक त्रासदीमा रुमल्लियो । स्थानीय निःशब्द भए । कसले यस्तो अकल्पनीय घटना गर्याे, अनुमान लगाउन सकेनन् ।
बीभत्स हत्या र आत्महत्याको कारण खोतल्न प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थाल्यो । अनुसन्धान सुरु गर्न प्रहरीलाई खासै अन्योल भएन, लासको पहिचान थियो । प्रहरीमै फोन आएको थियो, हत्याको दाबी गर्दै । तर, हत्यारा बताउने जिउँदा भने थिएनन् ।
केहीबेरमा घटनाको रहस्यहरू खुल्दै गए । प्रारम्भिक निचोडमा प्रहरी पुग्यो, ‘सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भई नागार्जुन नगरपालिका–६ भैरागटोल बस्ने राजु घिमिरे बिकले श्रीमती, छोरी र नातिनीको हत्या गरेर आत्महत्या गरे ।’
काममा गएकाले बाँचिन् बुहारी
स्थानीयका अनुसार राजु बुधबार बिहानसम्म घरको आसपासमै घुमिरहेका थिए । छोरी, नातिनी र श्रीमतीको हत्या गर्दा उनकी बुहारी भने बिहानै ७ बज्नुअघि नै काममा निस्किसकेकी थिइन् ।
छिमेकीहरू भन्छन्, ‘‘बुहारी सानै उमेरमा बिहे भएकाले उन्नाइस बीस वर्षकी मात्रकी छिन् । बिहानै ७ बजे काममा जान्थिन् । उनी मजदुरी गर्छिन् । मजदुरीमा जानुपर्ने भएकाले छोरीलाई सानै उमेरमा स्कुल हालेकी हुन् । २ वर्षमै उनी पिपुल्स स्कुलमा फुपु र अंकलसँगै जान्थिन् । धन्न उनी काममा गएकीले उनी बाँचिन्, बालक छोरी भने बचाउन सकिनन् ।’’
मृतक शिवानीका बुवा भने वैदेशिक रोजगारीका लागि विदेशमा छन् ।
छोरालाई पसल पठाएर अरूको हत्या
घटनाअघि राजु घिमिरे विकले १४ वर्षका छोरा अनिशलाई भने नास्ता किन्न पठाएका थिए । उनले अनिसलाई एक किलोमिटर पर सीतापाइला चोकमा गएर ‘ग्वारामारी’ किन्न पठाए ।
स्थानीय भन्छन्, ‘‘पसल नजिकै हुँदाहुँदै सीता पाइला चोकमा सामान किन्न पठाए । हत्याको योजना बुनेका रहेछन् । यसैले अवरोध नहोस् भनेर टाढा पसल पठाएका रहेछन् ।’’
राजुले घरबाट निस्कँदा बाटोमा राजुको सामान किनेर आउँदै गरेको छोरासँग भेट भयो । ‘तेरो आमालाई मार्दिए, जा छिटो घर’ राजुले छोरालाई भने ।
उनले छोरालाई मोबाइलबाट आफ्नो भिडिओ खिच्न लगाए । उनले हत्या गर्नुको कारण खुलाउँदै छोरा–बुहारीलाई मिलेर बस्न आग्रह गरे ।
श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेका आरोप लगाए । सोही कारण हत्या गरेको बताए । घटनाबारे बुहारी जेनीलाई पहिल्यै थाहा भए पनि आफूलाई नभनेका कारण घटना हुन पुगेको राजुले बताए ।
भिडिओमा उनले बुहारीलाई भनेका छन्, ‘‘मैले श्रीमती, छोरी र नातिनीको हत्या गरेँ । बुहारी आउँदा दिनमा छोरासँग मिलेर बस्नु । छोरा अनिशलाई (देबर)हेला नगर्नु । तैँले सबै कुरा किन गुपचुपमा राखिस् ? पहिल्यै सबै कुरा मलाई भनेको भए आज यो घटना नै हुने थिएन । तैँले मलाई पहिले नै केही कुरा भनिनस्, त्यही भएर मैले यस्तो निर्णय गरेँ।’’
त्यसपछि राजुले आफन्तलाई फोन गरेर तीन जनाको हत्या गरिसकेको बताएका थिए । नजिकै शुभकामना कोलनीमा ‘सोलुखुम्बु होटल’ चलाएर बस्ने ससुरालाई फोन गरे ।
घटनाबारे बताउँदै आफू पनि ‘मर्न जान लागेको’ भनेका थिए ।
शंकाकै भरमा हत्या !
ईश्वरी श्रेष्ठ र राजु घिमिरे विकले १८ वर्ष पहिले प्रेम विवाह गरेका थिए । काजीसँग विवाह गर्नुअघि ईश्वरीले पहिलाका श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । तर, छोराहरूसँग सम्बन्ध राम्रो थियो ।
ईश्वरीका पहिलेका श्रीमानबाट जन्मिएका छोरा हुन् अनिल । वैदेशिक रोजगारीमा रहेका उनकी छोरी आफ्नी नातिनी शिवानीकै हत्या गरेका थिए, राजुले । अनिलकी श्रीमती जेनी हुन् । ईश्वरी र काजीको सम्बन्धबाट एक छोरा र एक छोरी जन्मिएका थिए । १४ वर्षका अनीश र ८ वर्षकी अनिशा । तर अनिशाको आमासँगै हत्या गरे ।
ज्याला मजदुरी गर्ने राजुले श्रीमतीलाई परपुरुषसँगको सम्बन्धमा शंका गर्दै ज्यान लिएको प्रहरीको प्रारम्भिक आकलन छ। जिल्ला प्रहरी परिसर काठमाडौंले छोरा अनिशलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताएको छ ।
प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले भने, ‘‘हत्या गरेको र आत्महत्या गर्न जान लागेको भन्ने भिडिओ फेला परेको छ । यस विषयमा हामी अनुसन्धान गर्दै छौँ । उनीहरूको सम्बन्धमा केही वर्ष पहिलेबाटै खटपट भएको खुलेको छ । छोरालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौँ ।’’
‘भ्यालेन्टाइन्स् डे’मा दिएका थिए, फुल उपहार
हत्या गरिएकी ईश्वरीले एक महिनाअघि विष सेवन गरेकी थिइन् । मुसा मार्ने विष खाएकी उनलाई तत्काल शहीद मेमोरियल अस्पताल लगियो । पछि उनी निको भएकी थिइन् ।
भित्र घरायासी झगडा भएपछि राजु बाहिर भने श्रीमतीलाई माया गरेको देखाउँथेँ । उनकी श्रीमती पनि पतिसँग राम्रो सम्बन्ध रहेको देखाउँथिन् ।
राजुले ७ दिनअघि मात्रै ‘भ्यालेन्टाइन्स डे’ मा श्रीमतीलाई गुलाफको फूल दिएका थिए । त्यो भिडिओ श्रीमती ईश्वरीले छोरीको नाममा खोलेको टिकटक एकाउन्टमा राखेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्