क्वार्टरफाइनलमा नेपाल र कुवेत भिड्दै, नेपालको मनोबल उच्च

 धनगढी : मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटका  क्वार्टरफाइनलका खेलहरु आज हुँदैछन् । नेपालले कुवेतसँग खेल्दैछ । खेल वाईएसडी ओभल मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि शुरु हुनेछ ।

अघिल्लो दिनमात्र माल्दिभ्समाथि कीर्तिमान बनाएको नेपाली टिमको मनोबल उच्च रहेको छ । 

नेपाल समूह चरणमा अपराजित रहदै समूह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान ८–८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो । 

त्यसैगरी समुह चरणमा कुवेतले सिंगापुरलाई १० विकेटले र म्यान्मारलाई २७ रनले पराजित गरेको थियो भने थाइल्याण्डसँग ९६ रनले हार बेहोरेको थियो । 

 आजै अन्य क्वार्टरफाइनलमा बिहान ११ः१५ बजे मलेसिया र जापान खेल्दै छन् भने बिहान ७ः१५ बजे हङकङ र थाइल्याण्ड तथा इन्डोनेसिया र यूएई खेल्दै छन् ।       

 
१६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, यूएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वाटरफाइनलमा पुगेका छन् । त्यसैगरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

माल्दिभ्समाथि नेपालको कीर्तिमानी जित, के के बने रेकर्ड ?
एसीसी महिला प्रिमियर लिग टी–२० क्रिकेटको तेस्रो तथा समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको हो । 

मलेसियाको क्वालालाम्पुरमा नेपाल २१४ रनको फराकिलो अन्तरले विजयी भएको हो । यो जित अहिलेसम्मकै फराकिलो जितको कीर्तिमान हो । 

टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २२७ रन बनायो । यो टी–२० मा नेपालले बनाएको अहिलेसम्मकै उच्च स्कोर हो । नेपालका लागि पूर्व कप्तान रुबिना क्षेत्री बेल्बासीले ५९ बलमा अविजित रहँदै कीर्तिमानी ११८ रन बनाइन् ।

यो कुनै पनि नेपाली महिला क्रिकेटरको पहिलो शतक हो । सो क्रममा उनले ५ छक्का प्रहार गरिन् । अहिलेसम्म एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने पनि रुबिना पहिलो नेपाली खेलाडी बनेकी छिन् । 

त्यस्तै पूजा महतोले ३६ बलमा अविजित रहँदै ५९ रन जोडिन् । पाँचौँ विकेटका लागि रुबिना र पूजाले ८२ बलमा अविजित १६६ रनको कीर्तिमानी साझेदारीसमेत गरेका छन् । अहिलेसम्म कुनै पनि विकेटका लागि भएको यो सर्वाधिक साझेदारी हो । 

जवाफमा माल्दिभ्सले १३.५ ओभरमा अलआउट हुँदै १३ रनमात्र बनाउन सक्यो । कप्तान सुमयाबिन्थ ए हमीदले सर्वाधिक ५ रन बनाएको इनिङ्समा ६ खेलाडीले खातासमेत खोल्न सकेनन् । 

नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा अलराउन्डरद्वय रुबिना र पूजाले ३–३ विकेट लिए । 

नेपाल समूहका सबै खेल जितेर समूह विजेता बन्दै क्वार्टरफाइनल पुगेको हो । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार