धनगढी, १ भाद्र । सुदूरपश्चिममा आज ओल्के पर्व धुमधामका साथ मनाईदै छ । शदियौंदेखि भाद्र सक्रान्तिका दिन मनाइँदै आएको यो पर्व आज हर्षोल्लासका साथ मनाईदै छ ।
डोटेली शब्दकोषका अनुसार भाद्र सक्रान्तिका दिन सम्मानित व्यक्तिलाई दिइने ‘उपहार’ वा ‘कोसेली’ हो । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिक, इष्टमित्र, छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको कलिलो पात, दूध, दही, फलफूल, मीठो–मसिनो दिएर आशिर्वाद लिने प्रचलन रहेको छ ।
यो पर्वका दिन विवाहिता छोरीलाई माइतीमा बोलाएर सेलरोटी, माणा, निसौसे, डुब्कालगायतका मिष्ठान्न परिकार खुवाउने प्रचलन छ । खासगरी पहाडी क्षेत्रमा बसोबास रहेका समुदायमा ओल्के पर्वमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाई रमाउने पनि गर्दछन् ।
यसले वर्षातको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको संक्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ । साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुीसयालीमा सुदूरपश्चिमका पहाडी समुदायमा ओल्के पर्व मनाइन्छ ।
वर्षायाममा दादुरा, झाडापखाला, हैजा, लुतो, कुष्ठरोग जस्ता रोग लाग्ने भएकाले ती रोगबाट बाँचिएको खुसी साँट्न यो पर्व मनाइने प्रचलन रहेको पाईन्छ । ओल्केकै अवसरमा सुदूरपश्चिममा पिङ खेल्ने प्रचलन पनि रहेको छ । ओल्के पर्वको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ ।
यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ । यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिका साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन् । यसलाई ‘बूढी पोल्ने’ भनिन्छ । बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने सुदूरपश्चिमका पहाडि समुदाएमा जनविश्वास रहेको छ ।
शदियौंदेखि मनाइँदै आएको यो चाडलाई पछिल्लो पुस्ताले प्राथमिकता दिन छाडेको छ । युवा पिँढीबीच यो पर्वले प्राथमिकता नपाउँदा डोटेली मौलिक संस्कृति बोकेको ओल्के जस्ता चाड पर्वहरुको मौलिकता हराउने खतरा बढेको भन्दै डोटेली समुदायमा चिन्ता व्यक्त हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्