मस्जिद र मदरसा स्कुलको लफडा, आफ्नै समुदायको विद्यालय पनि किन बन्द गर्न खोज्दैछ मस्जिद ? (भिडियो)

भक्तराज जोशी

धनगढी । धनगढीमा मस्जिद र मुस्लिम समुदायको मदरसा नुरुनवी विद्यालयको विवाद सतहमा आएको छ । मुस्लिम समुदायको मूल समिति नेपाली नुरी जामा मस्जिदले विद्यालय भवन खाली गर्न पत्र काटेसँगै मस्जिद र मदरसाबीचको लफडा छताछुल्ल भएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित मदरसा नुरुनवी विद्यालय कब्रस्थानको जग्गामा सञ्चालन गरिएको छ । तर, उक्त विद्यालय कब्रस्थानको जग्गामा भएकै कारण विद्यालय हटाउनुपर्ने मस्जिद व्यवस्थापन समितिको भनाई छ । कब्रस्थानलाई थप जग्गा चाहिने भएपछि विद्यालय हटाउन पत्र काटेको मस्जिदका अध्यक्ष इस्माइल मसुलमानले बताए । ‘त्यो जग्गा कब्रस्थानको हो । कब्रस्थानको जग्गा भएकोले खाली गर्नैपर्छ’, उनले भने, ‘हामीले विद्यालय खाली गर्न पत्र काटिसकेका छौँ । कुनै पनि हालतमा विद्यालय खाली गर्नुपर्छ ।’

Dengue

झण्डै १५ वर्षअघि स्थापना भएको उक्त विद्यालय खासगरी मुस्लिम समुदायलाई लक्षित गरी सञ्चालन गरिएको हो । उक्त विद्यालयमा मुस्लिम धर्मसँगै नेपाल सरकारको पाठ्यक्रम पढाई हुन्छ । वर्षौंदेखि सञ्चालन हुँदै आएको उक्त विद्यालय एकाएक बन्द गराउन मस्जिदले पत्र काटेपछि विद्यालय व्यस्थापन समिति आश्चर्यमा परेको छ । यता मस्जिदका अध्यक्ष इस्माइलले आफू उक्त विद्यालयको संस्थापक समेत भएको बताएका छन् । आफै संस्थापक भएर विद्यालय सञ्चालन गराएको भए पनि पहिले र अहिलेको अवस्था फरक भएको बताउँदै विद्यालय बन्द हुनुपर्ने बताएका छन् ।

‘विद्यालय कब्रस्थान बाहेक आफ्नै जग्गामा सारिन्छ भने त्यसमा हाम्रो कुनै पनि आपत्ति हुन्न’, मस्जिदका अध्यक्ष इस्माइलले भने, ‘तर, कब्रस्थानको जग्गाबाट विद्यालय हट्नुपर्छ ।’

विद्यालयका अध्यक्ष के भन्छन् ?
यता विद्यालयका अध्यक्ष पप्पु कुरैसीले पनि विद्यालय कब्रस्थानको जग्गामा बनेको स्वीकारेका छन् । तर, उक्त विद्यालय कुनै पनि व्यक्तिको व्यक्तिगत लगानीमा नभएर सामाजिक चन्दा र अनुदानमा निर्माण भएको कुरैसीको भनाई छ । ‘यो विद्यालय सामाजिक चन्दा र अनुदानमा निर्माण गरिएको, यहाँ मुस्लिम समुदायका बालबालिकाहरु पठनपाठन गर्छन्’ , उनले भने, ‘मस्जिदले पत्र काटे अनुसार विद्यालय नै बन्द गर्नुपर्ने कुनै कारण छैन ।’

त्यस्तै विद्यालयका अध्यक्ष कुरैसीले मस्जिदले आफूमाथि लगाएका सम्पूर्ण आरोप निराधार भएको दाबी गरेका छन् । यतिसम्म कि उनले आफ्नो विषयमा विद्यालयका एक जना विद्यार्थी वा सम्बन्धित अभिभावकले गुनासो गरे मात्रै पनि तत्काल विद्यालयको अध्यक्षबाट राजिनामा दिने बताए । तर विद्यालय बन्द हुन नदिने उनले अडान लिएका छन् ।

कुरैसीले मस्जिद र विद्यालयका समितिबीचको असमझदारीका कारण विद्यालय नै बन्द गर्ने स्थिति आउनु दुखद् भएको बताएका छन् । ‘मुस्लिम समुदाय अन्तर्गतको कब्रस्थान, मस्जिद, मदरसा र इदग सबैको मूलसमिति मस्जिद हो, यहाँ मस्जिदले जे भन्यो त्यही हुन्छ’, उनले भने, ‘हामीले विगत ६ महिनादेखि मस्जिदको व्यथितिका बारेमा आवाज उठाएका छौँ, त्यसैको प्रतिशोध साँधेर विद्यालय बन्द गराउन मस्जिदका अध्यक्षले पत्र काटेका हुन् ।’

विद्यालय बन्द नहुने प्रसाशनको भनाई
त्यस्तै वडा नम्बर १ मा विगत लामो समयदेखि सञ्चालनमा रहेको मदरसा नरुनवी विद्यालय कुनै पनि हालतमा बन्द नहुने जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताएका छन् ।

मदरसा विद्यालय कुनै व्यक्तिको नभएर समुदायको भएकोले एक व्यक्तिले भनेकै आधामा विद्यालय बन्द नहुने जोशीले बताए । ‘यो विद्यालय कुनै व्यक्तिको नभएर समुदायको हो । कब्रस्थान सार्वजनिक जग्गा हो, त्यसैले विद्यालय हटाउनुपर्दैन’, उनले भने, ‘बहुमतका आधारमा समुदायले नै कब्रस्थान खाली गर्ने भन्छ भने विद्यालयको वैकल्पिक व्यवस्थापन गरेर मात्रै त्यहाँबाट सार्नुपर्छ ।’

व्यक्तिगत विवादका कारण १६ बर्ष देखि चल्दै आएको सामुदायिक बिधालय बन्द गर्न पत्र ! जिल्ला प्रशासन भन्छ बिधालय बन्द हुदैन

Posted by Call24News on Monday, July 10, 2023

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार