धनगढी । अचानक निन्द्रा खुल्यो, घडी हेरे, रातीको ११ बजेको थियो । पसिनाले निथ्रुक्क भिजेको शरिर, आलस्स भएको जिउ, कहिँ कतैबाट हावा चल्छ कि ? भनेर झ्यालको सबै पर्दा खोलेँ । तर हावाले ज्यान हलुका होला कि भन्ने चाहना चाहनामै सिमित भयो ।
‘बत्ति गएको २ घण्टा भईसक्यो, कहाँ मर्यो ?’ छिमेकी अंकल कराउँदै हुनुहुन्थ्यो । वरिपरी छिमेकीहरु बाटो र छतमा होहल्ला गर्दै थिए । सायद, लाग्यो होला यो उखर्माउलो गर्मीमा बाहिर निस्किए शितला होला कि ? तर धनगढीको त्यो सास फेर्दा पनि नाकै पोल्ने गर्मीको अगाडी कसको के लाग्थ्यो र ?
सबैजना बाहिर निस्किएको देख्दा आफूलाई पनि कोठाभित्रको असह्य गर्मी छल्न बाहिर निस्किउँ झैँ लाग्यो । अँध्यारो कोठामा मोबाइलको मधुर प्रकाश, गर्मी त झनै उफ्…। सहनै सकिन अनि बाहिर निस्किएँ । कोठाबाट पत्रिका हम्काउँदै छतमा मात्रै के पुगेको थिएँ ठूलो स्वरमा छिमेकी अंकलको छोरी कराइन्, ‘बत्ती आयो…।’ वल्लोपल्लो घरका सबैजना त्यसैगरी कराए, टोल पुरै गुञ्जायमान बन्यो । माहोल यस्तो बन्यो कि यहाँ पहिलो पटक बिजुली पुगेको थियो ।
बत्ति आउनसाथ सबैजना फेरी आ आफ्नो घरभित्र पसे र बाहिरै महसुश गर्न सकिने गरी सबै फ्यान चलाउन थाले । कोही टिभी खोलेर हेर्न थाले, कोही टेबल फ्यानको मुखै अघि गएर शरिरको पसिना सुकाउन थाले । तर, केही बेरमा फेरी छिमेकी अंकलको छोरी कराउँदै बाहिर निस्किईन्, ‘थुक्क यो बत्ती फेरी गयो ।’ गर्मीका कारण शरिरमा हाँस्ने तागत नभए पनि म मुस्कुराएँ ।
एकैछिनमा फेरी घर अघिको सडक मान्छेले भरियो । सायद निदाइसकेका अन्यहरुको निन्द्रा पनि उनै छिमेकी अंकलको छोरीले खोलिदिई ।
‘अब त राती नै भए पनि विद्युत् कार्यालय घेर्न जानुपर्छ क्या हो’, रिसाएको भावमा उसले भनि, ‘वाक्कदिक्क लागिसक्यो, दिनभरी पनि बत्ति हुँदैन, राती पनि आउने जानेमात्रै हुन्छ । गर्मी भएको बेला झन् कति बत्ति काटेको हो ?’
हुन पनि धनगढीको गर्मी यसै पनि सहिनसक्नुको छ । त्यसैमाथि विद्युत् कटौति । सोचेँ, उसको रिस पनि स्वभाविक नै हो । उ अझै पनि गर्मीको भडास विद्युत कार्यालयका कर्मचारीमाथि पोखिरहेको थिई । उ भन्दै थिई, ‘अब त मरे पनि भित्र जान्न ।’
उ बाटोको छेवैमा कुर्सी राखेर मोबाइल चलाउँदै थिई । ठ्याक्क बत्ति आयो । तर अघिल्लो पटकको जस्तो बत्ति आउनुको खासै उत्साह उसमा देखिएन ।
भित्रबाट ठूलो स्वरमा छिमेकी अंकल कराए, ‘ओई भित्र आईज, बत्ति आयो ।’ तर अंकलको छोरी आफ्नै सुरमा मोबाइल चलाई नै रही । उसको ध्यान टिकटकमै थियो । छिमेकी अंकले फेरी पनि बोलाएपछि उसले जवाफमा फर्काई, ‘ह्या फेरी गईहाल्ने बत्ति हो, भित्र आउने बित्तिकै बत्ति फेरी गईहाल्छ, होस् केहीबेर यही बस्छु । यहीँ शितल भएको छ बरु ।’ नभन्दै बत्ति फेरी गयो ।
यसअघि बत्ति जाँदा साह्रै रिसाएकी उ यसपटक भने खित्का छोडेर हाँसी । छिमेकी अंकल, अन्टी र उनीहरुको छोरो बाहिर निस्किए । ‘अघि त खुब बोलाउँदै होइसिन्थ्यो त’, आफ्नो बुवालाई जिस्काउँदै उसले ठट्यौली पारामा भनि, ‘बत्ति त गयो त, अब बोलाइसिन्न ?’
म आफै पनि पसिनाले निथ्रुक्क भईसकेको थिएँ । यतिन्जेलसम्म रातीको १ बज्न लागेको थियो । बिहानै नियमित कर्ममा जानुपर्ने भएर म जेनतेन निदाउँदै प्रयासमा थिएँ । तर, छिमेकी अंकलको छोरीको चर्को आवाजले मेरो निन्द्रा बिथोलिरहेको थियो । तर पनि म प्रयास गरिरहेको थिएँ । उनीहरु बाहिर हल्ला गर्दै थिए, छिमेकी अंकलको छोरी हाते लाईट बालेर टिकटक बनाउँदै थिइन् । यत्तिकैमा कतिबेला निदाएछु पत्तो तै भएन………….
प्रतिक्रिया दिनुहोस्