सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउँदै

धनगढी: करिब सय दिन पुग्नुभन्दा अगावै सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउने सम्भावना बढेको छ । सम्भवतः यही हप्ताभित्रै मन्त्रीपरिषद् विस्तार हुने गठबन्धन दलका नेताहरूले बताएका छन् ।

उनीहरूका अनुसार दलहरूबीच मन्त्रालयलगायत भागबन्डा मिलिसकेको छ । यसअघि मन्त्रालय भागबन्डाको विवाद रहेको थियो तर अब भागबन्डा मिलेकाले सम्भवतः यही हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताए ।

Dengue

“यसभन्दा पहिले केन्द्रमै मिलिराखेको थिएन,” नेपाली कांग्रेसका नेता बमले भने, “अब यहाँ पनि मिलिसकेको छ । त्यसैले यही हप्ताभित्रै, सम्भवतः शनिबार प्रदेश सरकारले पूर्णता पाउँछ ।”

गत माघ २७ गते कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा तीन सदस्यीय मन्त्रीपरिषद् गठन भएको थियो । सरकार गठनको तीन महिना पूरा भइसकेको छ भने जेठ ६ गते सय दिन पूरा हुँदै छ ।

सरकारमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को मात्रै सहभागिता रहेको छ । गठबन्धन सहयात्री माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने तयारीसँगै समय लम्बिएको थियो ।

दलहरूले आआफ्नै किसिमको दाबी गरेपछि सरकारलाई पूर्णता दिन कठिनाइ उत्पन्न भएको थियो । अब यो सरकारले यही हप्ताभित्रै पूर्णता पाउने सम्भावना रहेको सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले बताए। “मन्त्रीपरिषद् विस्तार यही हप्ताभित्रै हुन्छ,” उनले भने । सरकारलाई पूर्णता दिने विषयमा मुख्यमन्त्री शाह काठमाडौँ पुगेर दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ ।

यअघि माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले दुईरदुई मन्त्रालय दाबी गरेका थिए । यस्तै नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को पनि आफ्नै किसिमको अडान थियो तर दाबी एक खालको आए पनि सहमतिमा जाँदा सबै कुरो मिलेको बमको भनाइ छ ।

उनले सरकारलाई विश्वासको मत दिएका स्वतन्त्रबाट निर्वाचित प्रदेश सभा सदस्य ताराप्रसाद जोशीलाई पनि सरकारमा सहभागी गराउने तयारी रहेको बताए । प्रदेशमा छ वटा मन्त्रालय छन् । दुई वटा मन्त्रालयले यसअघि नै मन्त्री पाएका थिए ।

चार वटा मन्त्रालय भने खाली छन् । भागबन्डा मिलाउनका लागि राज्यमन्त्री पनि नियुक्त गर्ने तयारी भइरहेको छ । प्रदेश सरकारले अहिलेसम्म पूर्णता नपाउँदा विभिन्न क्षेत्रमा असर परेको छ ।

बजेट कार्यान्वयन र आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्ने समयमा नेतृत्वविहीन मन्त्रालयहरूबाट प्रभावकारी काम हुन सकेका छैनन् । अहिले यो प्रदेश सत्तारूद्ध दलका अकर्मण्यताको सिकार बनिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश सचिव एवं प्रदेश सभा सदस्य धर्मराज पाठकले आरोप लगाए । गोरखापत्र

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार